ओलीको नम्बरमा फोन नलागेपछि छलफल हुन नसकेको हो : कार्की

ओलीको नम्बरमा फोन नलागेपछि छलफल हुन नसकेको हो : कार्की

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चुनावी मिति घोषणा गर्नुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि प्रयास गरेपनि प्राविधिक कारणले सफल नभएको बताउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पर्कका लागि ओलीलाई फोन गर्दा नलागेको उहाँले खुलासा गर्नुभयो ।

एमाले नेताहरुले आफूहरुसँग कुनै छलफल नगरी निर्वाचनको मिति घोषणा गरेर सरकार प्रतिपक्षी दलप्रति असहिष्णु बनेको गुनासो गरिरहेका बेला काँग्रेस नेतासमेत रहनुभएका कार्कीको यस्तो प्रतिक्रिया आएको हो । आज बसेको सत्ता गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उहाँले निर्वाचन घोषणा गर्दा प्रतिपक्षलाई बेवास्ता गरिएको भन्ने कुराको खण्डन गर्नुभयो ।

सरकारले घोषणा गरेको चुनावको मिति स्वाभाविक भएकाले सबै दल चुनावको तयारीमा लाग्ने प्रवक्ता कार्कीको विश्वास छ । आफूलाई सोधनी नभएकोमा गुनासो पोखेको एमालेले पनि चुनाव घोषणालाई सकारात्मक भन्दै खुशी व्यक्त गरेको छ ।

टिप्पणीहरू