गोदावरीमा रेबिजविरुद्धको खोप निःशुल्क

गोदावरीमा रेबिजविरुद्धको खोप निःशुल्क

ललितपुरको गोदावरी नगरपालिकाले रेबिजविरुद्ध निःशुल्क खोप उपलब्ध गराउने भएको छ । मानिसलाई कुकुर वा अन्य जनावरले टोकेमा रेबिजबाट जोगाउन नगरपालिकाले निःशुल्क खोपको व्यवस्था गरेको हो ।

बज्रबाराहीस्थित चापागाउँ अस्पताल, बाडेगाउँ स्वास्थ्य केन्द्र र लेले प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क खोपको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको पहलमा स्वास्थ्य सेवा विभागबाट उक्त खोप प्राप्त भइसकेको बताइएको छ । संक्रमित कुकुर तथा जनावरले मानिसलाई टोक्दा लाग्ने रेबिज रोगलाई खोपको माध्यमबाट रोकथाम गर्न सकिन्छ ।

यो जनावरको र्यालबाट सर्ने रोग हो । रेबिजबाट बच्न कुकुर वा अन्य कुनै जनावरले टोक्नेबित्तिकै खोप लगाउनुपर्छ । विश्व स्वास्थ्य संगठनले विशेषज्ञहरुको परामर्शको आधारमा एक हप्ते छालामुनि दिइने खोप तालिका सन् २०१८ मा सिफारिस गरेको थियो ।

सोअनुसार एक हप्ताभित्र दुई मात्रा खोप तीन पटक लगाउनुपर्छ । त्यस्तै, शून्य दशमलब १ एमएल खोप छालामुनि दुबै पाखुरामा लगाउनुपर्नेछ ।

शुरुका दिनमा दुई मात्रा, खोप लगाएको तीन दिनमा दुई मात्रा र सातौं दिनमा दुई मात्रा गरी जम्मा छ डोज लगाए पुग्छ ।

टिप्पणीहरू