चीन-अमेरिका तनावबारे ताइवान र जापानमा यस्तो प्रचार

चीन-अमेरिका तनावबारे ताइवान र जापानमा यस्तो प्रचार

अमेरिकी सभामुख नान्सी पेलोसीको विवादास्पद ताइवान भ्रमणपछि एकाएक प्रशान्त क्षेत्रमा तनाव उत्पन्न भएको छ । तुलनात्मक रुपमा शान्त रहेको चीन–ताइवान क्षेत्रलाई तनावपूर्ण बनाएर अमेरिकी सभामुख स्वदेश फर्केकी छन् ।

चीनले पटक पटक एक चीन नीतिविरुध्द नजान गर्दै आएको आग्रहलाई अटेर गर्दै सभामुख ताइवान गएपछि सर्वत्र चासो र जिज्ञासा बढेको छ । तर ताइवानमा भने नसोचेको तनावपूर्ण अवस्था उत्पन्न भएको छ ।

अहिले चीनले ताइवान वरिपरी सैन्य गतिविधि बढाएको,क्षेप्यास्त्र प्रहार गरेको लाइभ फायर जोन थपेको समाचार आउन थालेको छ । ताइवानको सामुद्रिक बन्दरगाह ब्यूरो र त्यहाँको लिबर्टी टाइम्सले दिएको जानकारीअनुसार चिनियाँ जनमुक्ति सेनाले ताइवान वरिपरि सैन्य घेराउको आफ्नो चार दिने योजनालाई लम्ब्याएको छ ।

उसले यस्तो सैनिक दवाव पहिले निर्धारितभन्दा एक दिन थपेको छ भने लाइभ फायर जोनसमेत बढाइएको उनीहरुको दाबी छ । जसमा ताइवान नजिकै विमान र नौसेना जहाजका लागि छ वटा खतरनाक क्षेत्र तोकिएका छन् । उता जापान टाइम्सले चीनको नयाँ योजना र सैन्य अभ्यासलाई ‘ताइवान वरपर भएको अहिलेसम्मकै सबैभन्दा ठूलो दवाव,’ को संज्ञा दिएको छ ।

चीनले ताइवानको दक्षिणपश्चिम र उत्तरपूर्वसहित जल क्षेत्रमा लगभग एक दर्जन क्षेप्यास्त्र प्रहार गरिसकेको ताइवानी सेनाले जनाएको छ । उता जापानी रक्षा मन्त्रालयले पनि तीमध्ये पाँचवटा ब्यालिस्टिक क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्र अर्थात् समुद्री तटबाट दुई सय माइल परको हातेरुमा टापु नजिकै खसेको बताएको छ ।

जापान टाइम्सका अनुसार ताइवानको राजधानी ताइपेइको आकाशमा चारवटा मिसाइल उडेको थियो । टोकियोका जापानी सैन्य प्रमुख नोबुओ किसीले प्रक्षेपणलाई ‘अत्यन्त जबरजस्ती’ भनेर निन्दा गरेका छन् । जापानको क्योडो न्यूजका अनुसार चीनको पछिल्लो अभ्यास भविष्यमा ताइवानमाथि आक्रमणको वास्तविक रिहर्सल हो । उसले चिनियाँ जनमुक्ति सेनाका मेजर जनरल मेङ सियाङछिङले एक टेलिभिजन अन्तर्वार्तामा दिएको भनाइलाई उद्धृत गर्दै उक्त दाबी गरेको हो ।

तर, ताइवान र जापानबाट आएका पछिल्ला समाचार र दाबीबारे चिनियाँ पक्षले अहिलेसम्म औपचारिक रुपमा कुनै प्रतिक्रिया जनाएको छैन ।

टिप्पणीहरू