नर्भिकमा पर्सि निःशुल्क ओपीडी सेवा

नर्भिकमा पर्सि निःशुल्क ओपीडी सेवा

नर्भिक अस्पतालले पर्सि निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । विशेष अभियानअन्तर्गत विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको बताइएको छ ।

नर्भिकले शनिबार बिहान ८ देखि १० बजेसम्म एउटा टिम र ९ देखि साढे १० बजेसम्म अर्को टिमबाट निःशुल्क ओपीडी सेवा सञ्चालनको तयारी गरेको छ ।

अस्पतालमा लामो समयदेखि कार्यरत यूरोलोजी टिमले विशेष निःशुल्क ओपिडी अभियान सञ्चालन गर्दै आएको छ । पछिल्लो समय मूत्रनली तथा मूत्रथैलीसँग सम्बन्धित स्वास्थ्य समस्या बढ्न थालेसँगै निःशुल्क ओपीडी सेवालाई नियमित गरिएको बताइएको छ ।

यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले प्रोस्टेट ग्रन्थी सम्बन्धी सबै खालका समस्याका बिरामीहरुलाई बिहान ८ देखि १० बजेसम्म सेवा दिनेछ । त्यसैगरि ९ देखि साढे १० बजेसम्म यूरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले सेवा दिने जानकारी गराइएको छ ।

मुटुको समस्या भएका बिरामीहरुका निम्ति लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया हुनेछ । शल्यक्रिया शुल्कमा विशेष सहुलियतको व्यवस्था समेत रहेको अस्पतालले जनाएको छ ।

मिर्गौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले निःशुल्क ओपीडी सेवाबाट लाभ लिन सक्ने छन् ।

नर्भिकमा हाल सानो प्वाल बनाई मिर्गौलाको पत्थरी निकाल्ने प्रविधि, घाउ नबनाई मिर्गौलाको पत्थरीको उपचार गर्ने तथा घाउ नबनाई मूत्रनलीको पत्थरी लेजरले निकाल्ने प्रविधिसमेत उपलब्ध रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निःशुल्क सेवा लिन चाहनेले नर्भिक अस्पताल कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स एप वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गर्न सक्नेछन् ।

टिप्पणीहरू