न्यायाधीशका अंगरक्षक नै चिनियाँ अपहरणमा संलग्न, अपहरणकारीसँग लाखौं नगद

न्यायाधीशका अंगरक्षक नै चिनियाँ अपहरणमा संलग्न, अपहरणकारीसँग लाखौं नगद

काठमाडौँको लाजिम्पाटबाट एक चिनियाँ नागरिकलाई अपहरण गरि एक करोड फिरौती माग्ने अपहरणकारीको समूह होटलबाट समातिएको छ । नयाँ बसपार्कस्थित मित्रनगरमा रहेको न्यू स्वर्गद्वारी प्यूठान होटल एण्ड लजबाट प्रहरीले अपहरणमा परेका एक नेपाली र चिनियाँ नागरिक याङ याङको सकुशल उद्दार गरि छ जना अपहरणकारीलाई पक्राउ गरेको छ ।

पक्राउ परेका दुई जना पनि प्रहरी नै रहेको खुलेको छ । तीमध्येका एक जना उच्च अदालत पाटनका न्यायाधीशको पिएसओ (पर्सनल सेक्युरिटी अफिसर) रहेको प्रहरीले बताएको छ । पिएसओ भनिएका गोरखाको आरुघाट गाउँपालिका–७ घर भएका हाल रानीबारी बस्ने ३७ वर्षीय कर्णबहादुर गुरुङ र बर्दियाको राजापुर घर भइ हाल बालाजु वृत्तमा कार्यरत घुमुवा प्रहरी शिव सुनारको घटनामा संलग्नता पुष्टि भएको हो ।

त्यस्तै, पक्राउ परेका बाँकी चार जनामा गोर्खाको सिरानचोक गाउँपालिका–५ घर भई धापासी बस्ने २८ वर्षीय लक्ष्मण गुरुङ, सर्लाहीको लालबन्दी नगरपालिका–११ घर भई मित्रनगरस्थित सिन्धुली गेष्टहाउसमा बस्ने २९ वर्षीय रोहित मगर, प्युठानको प्युठान नगरपालिका–८, बाग्दुला घर भई अहिले मित्रनगर बस्ने २८ वर्षीय विशाल मगर र नुवाकोटको शिवपुरी गाउँपालिका–६, पालथोक घर भई बानियाँटार बस्ने २७ वर्षीय विनोद केसी हुन् ।

प्रहरीका अनुसार उनीहरूले हिजो साँझ ७ बजेतिर सामाखुशी, कपुरधाराबाट शुरुमा ओखलढुङ्गाको चिसाङ्खुगढी गाउँपालिका–५ चिसापानी घर भई हाल बनस्थली बस्ने २६ वर्षीय सूर्यबहादुर राईलाई जबर्जस्ती लाजिम्पाटस्थित खरेल टोलमा रहेको एउटा घरमा पुर्याएका थिए । त्यसपछि त्यहाँबाट याङलाई पनि जबर्जस्ती उठाएर होटलमा लगेर उनीसँग एक करोड फिरौती मागेका थिए ।

दुई व्यक्ति अपहरणमा परेको सूचना पाएलगत्तै विशेष टोली खटाएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी परिसर, काठमाडौँले तत्काल मातहतका प्रहरी वृत्तहरू दरबारमार्ग, लैनचौर, महाराजगञ्ज, मालीगाउँ समेतलाई उच्च सतर्क गराई खोज तथा उद्दार थालेको बताइन्छ । राति पौने १२ बजे याङ र राईलाई नयाँ बसपार्कस्थित मित्रनगरमा रहेको न्यू स्वर्गद्वारी प्यूठान होटल एण्ड लजबाट शकुशल उद्दार गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले आठ लाख १४ हजार नौ सय नगद, विभिन्न कम्पनीका २६ सेट मोबाइल फोन र एक थान हतकडीसमेत बरामद गरेको छ ।

पक्राउ परेकाहरु उपर मुलुकी अपराधसंहिता ऐन, २०७४ को परिच्छेद–१७ को अपहरण वा शरीर बन्धकसम्बन्धी कसूरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।

टिप्पणीहरू