कोशी ब्यारेज खुलाउन कूटनीतिक पहलको माग

कोशी ब्यारेज खुलाउन कूटनीतिक पहलको माग

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले कोशी ब्यारेजको सबै ढोका खुलाउनका लागि आवश्यक पहल गरिदिन माग गरेको छ ।

अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च रहेको उल्लेख गर्दै अनेरास्ववियुले कोशी ब्यारेजको सबै ढोका खुलाउनका लागि कूटनीतिक पहल गरिदिन सरकारसमक्ष माग गरेको हो ।

अध्यक्ष सुनिता बरालले आज विज्ञप्ति जारी गर्दै सुनसरीको बराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकाका करिब दुई हजार घर परिवार पीडित भएको उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्,‘भारतले कोशी ब्यारेजका सबै ढोका नखोलेपछि नदीमा आएको बाढीले डुम्रिबोटेबाट तटबन्ध भत्काएर पश्चिमतर्फ श्रीलंका टापु प्रवेश गरी सुनसरीको बराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकाका करिब दुई हजार घर परिवारलाई पीडित बनाएको घटनाले हामीलाई स्तब्ध बनाएको छ ।’

प्राकृतिक प्रकोप न्यूनिकरण गर्न सक्ने विकल्प हुँदाहुँदै पनि त्यसतर्फ गम्भीर नहुने सरकारी उदासिनताका कारण दिनप्रतिदिन क्षति बढ्दै गएको अनेरास्ववियुको ठम्याई छ ।

साथै, कोशी ब्यारेजबाट हुने सम्भावित क्षतिलाई नियन्त्रण गर्न गोताखोरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तयारी अवस्थामा राख्न सुझाइएको छ ।

डुबान क्षेत्रका नागरिकहरुलाई तत्काल सुरक्षित स्थानतर्फ उद्दार गर्न र राहत वितरणको कार्यमा तीव्रता दिन सरकारसंग जोडदार माग गरिएको छ ।

टिप्पणीहरू