रेमिट्यान्स कल्चरविरुद्ध जागरणको जरुरत « Jana Aastha News Online
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022

रेमिट्यान्स कल्चरविरुद्ध जागरणको जरुरत

प्रकाशित मिति :  २० श्रावण २०७९, शुक्रबार ०९:३०


केही दिनयता सार्वजनिक दुई घटनाले नेपाली समाजमा गम्भीर प्रश्न उठाएका छन् । काठमाडौं र चितवनको भरतपुरमा एक परिवारका अभिभावकले अन्य सदस्यको हत्यापछि आफैंले आत्महत्या गरेको खबर बाहिरिएपछि गम्भीर प्रश्न उठेको हो ।

सुखी परिवारको सपना देख्नेहरू यस्तो त्रासद र दुःखद घटनाका कारकको रूपमा किन देखिन थाले होलान् ? वैदेशिक रोजगारमा गएका युवाहरूले घर फर्केपछि श्रीमती र छोराछोरीको हत्या गर्नु र अन्तिममा आफैँ सेरिनु, हाम्फाल्नु वा झुन्डिनुका कारणहरू के हुन सक्लान् ? मार्ने र मर्ने रहर भए पक्कै पनि ५० डिग्रीको तातो घाममा, बालुवाका पहाड र मैदानले भरिएका खाडी मुलुकतिर कमाइ गर्न पक्कै जाँदैनथे ।

सन्तानको सुखद जीवनको निम्ति परिवारकै सुखलाई त्यागेर वैदेशिक रोजगारमा गएका युवाहरू जब घर फर्किन्छन्, जब परिवारसँग सुखद मिलनका निम्ति आतुर हुन्छन्, तब यस्तो दुःखद र त्रासद घटना हुन्छ । आखिर किन ? ‘एकताका ४० कटेपछि रमाउँला’ भन्ने गीतलाई लोकप्रिय बनाउने युवाहरू फर्केपछि किन दुःखी हुन्छन् ? किन निराशा वा डिप्रेसनको शिकार हुन्छन् ? सुखद परिवारको सपना बोक्नेहरू परिवारकै हत्याराका रूपमा किन रूपान्तर हुन्छन् ? किन आफ्नो ज्यान आफैँ लिन अघि तम्सिन्छन् ? प्रश्न बडो गम्भीर छ । यस्ता घटनालाई अपवाद हुन् भनेर नजरअन्दाज गर्न मिल्दैन ।

पश्चिमा संस्कृतिको बढ्दो प्रभाव, सामाजिक विकृति र विसंगति अनि अतिनारीवादी सोचका कारण यस्ता घटनामा बृद्धि भइरहेका छन् । यसमा विकसित सञ्चार प्रविधिले पनि थोरबहुत नकारात्मक भूमिका खेलेको छ भन्दा अत्युक्ति हुँदैन । नेपाली समाजको पारिवारिक संरचना र परम्परागत सोच पनि यसमा केही हदसम्म जिम्मेवार छ ।

सामाजिक सञ्जालमा अनेकथरी शिकारी सक्रिय भेटिन्छन् । यिनले वैदेशिक रोजगारमा गएका परिवारको राम्रैसँग पहिचान गर्छन् र जालो बिछ्याउँछन् । यस्तो जालोमा श्रीमान्को पसिनाको कदर गर्न नजान्नेदेखि जान्नेहरू सबै खाले फस्न सक्छन् ।

अनपढदेखि पढेलेखेका महिला सबै फन्दामा फसेका छन् । यस्तै फन्दाको शिकार भएका पत्नीहरूको हर्कत जब थाहा हुन्छ, तब कतिपय श्रीमान् निराश हुन्छन्, डिप्रेसनमा जान्छन् वा गम्भीर प्रकृतिका घटनाको निम्ति जिम्मेवार देखिन्छन् ।

यसबाट बच्नको निम्ति पारिवारिक संरचनाभित्रको आत्मीयता र सद्भावलाई कसरी कायम राख्ने, वैदेशिक रोजगारमा श्रीमान् वा श्रीमतीहरू भएका बेला नेपाल बसेका जीवनसाथीबीचको प्रगाढ सम्बन्धलाई कसरी सुमधुर बनाउने भन्ने उपाय खोज्न जरुरी छ । प्रतिनिधिमूलक पछिल्ला दुबै घटनामा आत्महत्या गर्नेहरूले ‘श्रीमतीको बदलिएको व्यवहार’बारे सुसाइड नोटमा उल्लेख गरेका छन् ।

यसले वैदेशिक रोजगारमा रहेका लाखौं नेपाली युवाको मानसपटलमा गम्भीर तरंग पैदा गरेको छ । विभिन्नखाले आशंका, निराशा र कुण्ठाहरू पैदा भएका छन् ।

त्यसैले यस्तो विषयमा नेपाल सरकार गम्भीर हुन आवश्यक छ । विप्रेषण (रेमिट्यान्स)बाट मुलुक चलाउने अनि विप्रेषणका लागि क्रियाशील जनशक्तिको पारिवारिक जीवन तहसनहस हुँदा, हत्या र मृत्युसम्म पुग्दा पनि उदासीन हुने हो भने सरकार हुनु र नहुनुको कुनै औचित्य रहने छैन ।

सरकार हुनुको दायित्व विप्रेषणमा आँखा गाडेर बस्नु मात्र होइन, विप्रेषण जुटाउने जनशक्ति र तिनका परिवारको सुरक्षा र संरक्षणको दायित्व पनि हो । यसका निम्ति मनोविमर्शकहरूलाई परिचालन गर्न सकिन्छ, जसले पारिवारिक जीवनको स्थायित्वका लागि नेपालभित्रै बसेका परिवारलाई परामर्श दिन सक्छन् ।

रेमिट्यान्स कल्चर अर्थात् वैदेशिक रोजगारबाट सिर्जित संस्कृति भनेर पन्छिने वा टक्टकिने हो भने योभन्दा गरिब सोचविचार अरू केही हुनै सक्दैन । हामी सबैले महसुस गरेका हौं र छौं रेमिट्यान्स कल्चर हाम्रो कल्चर होइन । तर, यही संस्कृतिले विस्तारै समाजलाई गाँज्दै गइरहेको छ ।

तसर्थ यस्तो संस्कृतिविरुद्ध समाजलाई स्वाभाविक लयमा अघि बढाउन वैदेशिक रोजगारीमा जाने र उनीहरूको परिवारलाई केन्द्रमा राखेर थुप्रै नयाँ कार्यक्रम सञ्चालन गर्न जरुरी छ । अन्यथा ढिलोचाँडो यसको शिकार अरु धेरैले हुनुपर्ने अवस्था नआउला भन्न सकिन्न । अल्पायुमै जीवन गुमाउनुभएका सबैमा हार्दिक श्रद्धाञ्जली र परिवारजनमा हार्दिक समवेदना !


प्रतिक्रिया दिनुहोस !