साहु भागेको गौतमश्री सहकारीमा चौधरी र सुमार्गी पनि डुबेको आशंका,गणेश उप्रेतीको समेत रुवावासी

साहु भागेको गौतमश्री सहकारीमा चौधरी र सुमार्गी पनि डुबेको आशंका,गणेश उप्रेतीको समेत रुवावासी

काठमाडौं कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारीका मुख्य सञ्चालक रामबहादुर गौतम फरार भएपछि सर्वसाधारण मात्र होइन मुलुकका धनाढ्यहरुको समेत करोडौं रुपैयाँ जोखिममा परेको छ । सर्वसाधारणको अरबौं निक्षेप डुबेको आशंका गरिएको उक्त सहकारीमा डलर अर्बपति विनोद चौधरीको नौ करोड र अर्का व्यवसायी अजय सुमार्गीको पनि आठ करोड रुपैयाँ फसेको बताइन्छ ।

ठूला ब्यापारीको समेत पैसा आफ्नोमा जम्मा रहेको देखाएर राम गौतमले सर्वसाधारणलाई फसाउने गरेको अहिले आएर पुष्टि भएको छ । उनी कतिसम्म मनोमानी गर्थे भने आफ्नो सँस्थालाई परिवारले भरिभराउ त पारे तर सहकारी सँघ र बैंकहरु कतै पनि जोड्दै जोडेनन् ताकि कसैले निगरानी या आचारसंहिता लगाउन नपाउन् ।

सञ्चालक फरार भई संस्था वित्तीय संकटमा परेलगत्तै एभरेष्ट बैंकले गौतमश्रीको मुख्य भवनलाई आफ्नो धितो सम्पत्तिको सूचना टाँसेर रोक्का गरेको छ । सहकारी विभाग स्रोतका अनुसार गौतममा चौधरी र सुमार्गीको तर्फबाट निक्षेपको रुपमा केही रकम राखिएको भनिए पनि पूर्ण विवरण आइसकेको छैन बरु ललितपुरको देउराली सहकारीलाई भने मज्जैले डुबाएको पाइएको छ ।

तीन वर्षअघि विभागले गरेको विशेष अनुगमनका क्रममा धनी ब्यापारीहरूको रकम देखिएको थियो,तर प्रतिष्ठित व्यापारिक घरानाको समेत पर्याप्त रकम रहेकाले विभागबाट थप छानबिन र अनुसन्धानका साथै कारवाहीको निम्ति ग्रिन सिग्नल नआउँदा निरीक्षण टोली पछि हटेको त्यसमा सँलग्न एक जना सदस्यलाई उद्धृत गर्दै विभाग स्रोतले जानकारी दिएको छ । ‘तीन वर्षअघि हामी सो सहकारीको अनुगमनमा गएका थियौँ । सोही क्रममा एक जनाको २५ करोड,चौधरी ग्रुपको नौ करोड र सुमार्गीको आठ करोड रुपैयाँ निक्षेप देखियो,रिपोर्टमा भने लेख्न पाइएन,’उनले भने । यसवारे बुझ्न खोज्दा विभागका प्रवक्ता टोलराज उपाध्यायले आफूले पनि यसवारे सुनेको तर भित्रको सबै कागजात अध्ययन नगरी यसै भन्न नसकिने बताए ।

“कमजोर नियमन र सुपरीवेक्षणको फाइदा उठाउँदै भूतपूर्व बर्दिधारी,कर्मचारी र ठूला तथा साना व्यापारीहरुले कर छली वा अन्य स्रोतको रकम सहकारीहरुमा राख्ने गरेको बुझिएको छ ।”

सहकारी विभागमा रजिस्ट्रारभन्दा सहकारी माफियाको हालिमुहाली रहेकाले अनुगमनपछि कारवाही हुन नसकेका धेरै वटा घटना भएको बताइन्छ । सोही कारण अहिले भटाभट सहकारीको समस्या बाहिर आउन र धेरैतिरका सर्वसाधारणले बचत फिर्ता लिन थालेको अवस्था छ ।

उक्त सहकारीमा एक जनाले त २५ करोड रुपैयाँसम्म निक्षेप राखेको बताइन्छ । कमजोर नियमन र सुपरीवेक्षणको फाइदा उठाउँदै भूतपूर्व बर्दिधारी,कर्मचारी र ठूला तथा साना व्यापारीहरुले कर छली वा अन्य स्रोतको रकम सहकारीहरुमा राख्ने गरेको बुझिएको छ ।

अधिकांश माओवादी नेताहरुको रकम जम्मा गरिएकाले गौतम सहकारीमा यसअघि देखिएको समस्या बाहिर आउन नदिन पार्टी हाइकमाण्डको सचिवालयले भरमग्दुर प्रयास गरेको थियो । सहकारीमार्फत् गौतम र उनी नजिकका मानिसले प्रायः घरजग्गामा लगानी गरेका छन् । साना बचतकर्ताबाट उठाइएको रकम कम्प्युटरमा दाखिला नगर्ने,पास बुकमा मात्र लेख्ने गरिएकाले पनि कसको कति रकम डुबेको छ भन्ने यकिन सिष्टमबाट नदेखिएको कर्मचारीहरु बताउँछन् ।

‘त्यतिबेला माओवादी हाइकमाण्डबाट प्रेसर दिएकाले गडबड छ भन्ने लागेको थियो । अहिले बल्ल बाहिर आयो,’सहकारी विभाग स्रोतले भन्यो, ‘काभ्रेका गणेश उप्रेतीले मीटर ब्याजमा लगाएको पैसा पनि फसेको पाइएको छ । उनले एक वर्षलाई ४० प्रतिशतसम्म ब्याजमा आठ करोड जम्मा गरेका थिए । गत शुक्रबारदेखि उनको पनि रुवाबासी सुनिएको छ ।’

अर्बपतिहरुको रकमसँगै जनयुध्दकालको पैसा लगानी गरेका माओवादी नेताहरुको पनि अहिले चिल्लिबिल्ली भएको बताइन्छ । बेपत्ता सञ्चालक रामबहादुरले अधिकांश रकम काभ्रे,हेटौंडा, काठमाडौंका घर जग्गामा लगानी गरेका थिए । उनले पछिल्लो समय रसुवामा निर्माणाधीन चिनियाँ ठेक्काको जलविद्युतमा सामान आपूर्तिको जिम्मा लिएका थिए । त्यसमा पनि ठूलै रकम फसेको बताइन्छ ।

द्वन्द्वकालमा मारिएका रसकमलसहित माओवादी नेता यानप्रसाद गौतमको पैसा पनि उनै गौतमले चलाएको आशंका गरिएको छ ।

टिप्पणीहरू