एमालेमा पसेका माओवादी नेता विरक्त,भन्छन्,‘पार्टी दक्षिणपन्थी भयो,यहाँ ‘बा’को हुकुम चल्छ’

एमालेमा पसेका माओवादी नेता विरक्त,भन्छन्,‘पार्टी दक्षिणपन्थी भयो,यहाँ ‘बा’को हुकुम चल्छ’

तत्कालीन नेकपाको विवादमा माओवादी छाडेर केपी शर्मा ओलीलाई साथ दिएका पूर्वमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य मणी थापाले नेपालमा नयाँ वामपन्थी पार्टी गठनको आवश्यकता रहेको बताएका छन् ।

एमाले दक्षिणपन्थी बाटोमा हिँडेको र माओवादी केन्द्रसमेत काम नलाग्ने भइसकेकाले नयाँ मुद्दासहितको वामपन्थी पार्टी आजको आवश्यकता भएको उनको दाबी छ । आजको वामपन्थबारे “नेपाल अध्ययन केन्द्र” ले गत शनिबार र आइतबार गरेको अन्तरक्रियामा भाग लिन काभ्रेको पनौती पुगेका थापाले एमालेसँग कुनै एजेण्डा नभएको र अध्यक्ष ओलीले जे भन्यो त्यही हुने अवस्थामा रहेको बताएका थिए ।

‘अहिले चाहिएको नयाँ मुद्दासहितको वामपन्थ हो । हामी एमालेमा छौं तर एमालेसँग मुद्दा छैन । एमाले भएको नाताले हाम्रा बाले जे भने पनि त्यो त भन्नुपर्यो । पार्टीको नेता भएकाले हामीले विरोध गर्न मिल्दैन,त्यो अनैतिक हुन्छ फेरि’, उनले भने ।

“हामी एमालेमा छौं तर एमालेसँग मुद्दा छैन । एमाले भएको नाताले हाम्रा बाले जे भने पनि त्यो त भन्नुपर्यो । पार्टीको नेता भएकाले हामीले विरोध गर्न मिल्दैन,त्यो अनैतिक हुन्छ फेरि’,

कम्युनिष्ट आन्दोलन सँधै वामपन्थी र दक्षिणपन्थी हुने भन्दै उनले अहिले नेपालका सबै दक्षिणपन्थी पार्टी भएको बताए । त्यसकाविरुद्ध र्याडिकल वामपन्थी पार्टी बनाउनेतर्फ कोही बोल्न नसकेको उनले गुनासो पनि गरे । थापाले एमाले र माओवादीबाट विद्रोह गरेर नयाँ ‘र्याडिकल वामपन्थी’ पार्टी बनाउनुपर्नेमा पनि जोड दिएका छन् । भने, ‘अहिले नेपालमा भएका सबै दक्षिणपन्थी कम्युनिष्ट हुन् । अहिले म एमालेमा छु, यो दक्षिणपन्थी कम्युनिष्ट हो ।’

‘हामी एमालेमा छौं, एमालेमा बोल्न सकेका छैनौं । हिजो माओवादीमा थियौं, माओवादीमा बोल्न सकेका थिएनौं । र,आजको मितिसम्म पनि हामी यहाँ बोल्न सकेका छैनौं’, थापाले अगाडि भने, ‘यसरी वामपन्थ हुँदैन । यो बहसले मात्रै वामपन्थ हुँदैन । नेपालको र्याडिकल वामपन्थ कसरी अगाडि बढेको छ र र्याडिकल वामपन्थले कम से कम केही परिणाम कसरी दिएको छ भन्ने कुरा पनि हामीले नेपालको हिस्ट्रीमा बुझ्न जरुरी छ ।’

घनश्याम भुसालले एमालेभित्र र्याडिकल वामपन्थको दस्तावेज प्रस्तुत गरे आफूले साथ दिने पनि उनको भनाइ छ ।

टिप्पणीहरू