धरानका मेयरविरुद्ध प्रतिरक्षामा उत्रने एमालेको चेतावनी

धरानका मेयरविरुद्ध प्रतिरक्षामा उत्रने एमालेको चेतावनी

नेकपा एमाले धरान उपमहानगर कमिटीले मेयर हर्कराज राईका पछिल्ला अभिव्यक्तिमाथि आपत्ति जनाएको छ । स्थानीय बराह ऋण सहकारी संस्थालाई लिएर विभिन्न सामाजिक सञ्जालमा एमालेविरुद्ध अनर्गल प्रचारबाजी गरेको र जातीय सद्भाव बिगार्न खोजेको आरोप लगाउँदै उसले गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।

बराह पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीलाई जोडेर एमाले केन्द्रीय सदस्य तथा सुनसरी सह–इञ्चार्ज मञ्जु भण्डारी सुवेदी र सिंगो एमालेलाई बद्नाम गराउन नगर प्रमुख लागेको एमालेको ठहर छ ।

एमाले नगर कमिटी अध्यक्ष हर्कजंघ एभेङ्गद्वारा जारी विज्ञप्तिमा नगर प्रमुखका पछिल्ला गतिविधिले सिङ्गो धरानबासीको गरिमा खस्किएको जनाउँदै दलीय व्यवस्था, संघीयता र जातीयद्वेष फैलाउने कार्य नगर्न भनिएको छ ।

आइतबारको नगरपालिका कार्यालय तोडफोड गलत भएको तर सहकारी पीडितले उठाएको विषयप्रति दिएको गैरजिम्मेवार अभिव्यक्तिका कारण उक्त घटना हुन पुगेकाले सम्पूर्ण जिम्मा नगर प्रमुखलेनै लिनुपर्ने एमालेको ठहर छ ।

विज्ञप्तिमा धरानमा स्वतन्त्र नारा लगाएर सत्तामा पुग्ने वातावरण राजनीतिक दलले बनाइदिएको र राजनीतिक दल, दलका कार्यकर्ता, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति धावा नबोल्न चेतावनी दिइएको छ । प्रतिशोध साँध्ने र व्यवस्था नै कमजोर बनाउन खोजे एमाले प्रतिरक्षामा उत्रन बाध्य हुने भनिएकाे छ ।

टिप्पणीहरू