अमेरिकी सभामुख एक रात ताइवानमा बस्न खोज्दा चीनको कडा आपत्ति

अमेरिकी सभामुख एक रात ताइवानमा बस्न खोज्दा चीनको कडा आपत्ति

अमेरिकी सभामुख नान्सी पेलोसी अस्तिदेखि एसियाली मुलुकको भ्रमणमा निस्केकी छन् । उनी हिजो सिंगापुरमा थिइन् । आज मलेसिया गएर त्यहाँ पनि औपचारिक भेटघाट गरेकी छन् । तर,उनको एसिया भ्रमणको औपचारिक सूचीमा नरहेको ताइवानमा एक रात बिताउनै पर्ने कारणबारे चीनले कडा प्रतिक्रिया जनाएको छ ।

चीनले आफ्ना सभामुखलाई ताइवान नपठाउन अमेरिकालाई कडा चेतावनी दिँदै आएको छ । यसले दुई देशबीचको राजनीतिक सम्बन्धलाई सर्वाधिक तिक्ततापूर्ण बनाउने चीनको भनाइ छ । उसले पटक पटक अमेरिकालाई ‘आगोसँग नखेल्न’ भन्दै ताइवान भ्रमणमा सभामुखलाई नपठाउन भनेको हो । सभामुख पेलोसीले एक रात त्यहाँको भ्रमण गर्ने ताइवानी अधिकारीहरुले बताएका छन् ।

तर अमेरिकाले भने सभामुखको भ्रमणले संकट ननिम्त्याउने दाबी गरेको छ । आजसम्म ताइवान भ्रमणबारे केही उल्लेख नगरेपनि सबै गतिविधिले उनले कुनै हालतमा ताइवानको भ्रमण गर्ने सम्भावना बढ्दै गएको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले बताएका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन एफ किर्बीले सभामुखको भ्रमणलाई सैन्य गतिविधिसँग नजोड्न कडा शब्दमा प्रतिक्रिया दिएका छन् ।

यता ह्वाइटहाउसले भने सभामुख पेलोसीको भ्रमणलगत्तै चीनले ताइवान र सो क्षेत्रमा क्षेप्यास्त्र प्रहार गर्ने सम्भावना बढेको बताएको छ । चीनले भने अहिलेसम्म अमेरिकालाई आगोसँग नखेल्न सांकेतिक रुपमा चेतावनीको भाषा प्रयोग गर्दै आएको छ ।

ताइवान चीनको अभिन्न अंग रहेकाले उसले कुनै पनि मुलुकबाट हुने राज्यस्तरको भ्रमणबारे चासो राख्दै आएको छ । ताइवानसँग कुनै पनि मुलुकको राज्यस्तरको सम्बन्धलाई चीनले सँधै अस्वीकार गर्दै आएको छ । तर, अमेरिकाले ताइवानसँग प्रायः यस्तै खालको विवादित भ्रमण र सम्बन्ध राख्ने गरेको आरोप छ ।

टिप्पणीहरू