कता जो जोडिए, कहाँनेर कोसँग नाता तोडिए

कता जो जोडिए, कहाँनेर कोसँग नाता तोडिए

चार वर्षअघि गुरु बा र आमासँग तोडिएको सम्बन्ध फेरि जोडेका छन् निर्मल शर्माले । उता, जितु नेपालसँगको सम्बन्ध भने यही बेला ब्रेक भएको छ ।

झण्डै दुई दशकदेखि जोडिएको हो निर्मल शर्मा ‘गैंडा’ र दीपकराज गिरी, दीपाश्री निरौलाबीचको सम्बन्ध । कुनै समयको लोकप्रिय टेलिचलचित्र ‘तीतो सत्य’बाट दीपक र दीपाले नै ‘गैंडा’ उपनाम दिएका हुन् । उनै निर्मलले दीपक र दीपालाई ‘गुरु बा र आमा’ मान्दै आएका छन् । टेलिशृंखला हुँदै जोडिएको सम्बन्ध ठूलो पर्दाका ‘६ एकान ६, वडा नम्बर ६ र छक्का पञ्जा’ सम्म जारी रह्यो ।

छक्कापञ्जा एकको निर्माता र अभिनेतासमेत रहेका उनी दोस्रो र तेस्रो सिक्वेलमा सहभागी भएनन् बरु ०७४ सालपछि दीपकराज र दीपासँग देखिन छाडे । कुनै यस्तो समय पनि थियो जहाँ धुर्मुस अर्थात् सीताराम कट्टेल, माग्ने बूढा अर्थात् केदार घिमिरेदेखि जितु नेपालसम्मका हाँस्यकलाकारलाई समेटेर दीपकराज गिरी र दीपाश्री निरौलाले ‘६ एकान ६’ बनाए । सो चलचित्र सुपर हिट भयो । पैसा मनग्यै कमायो पनि ।

यही समूहले ‘वडा नम्बर ६’ बनायो । त्यहाँ धुर्मुस अटेनन् । ‘छक्का पञ्जा’ बनाउँदा निर्मल शर्मा (गैंडा) सो समूहमा अटेनन् । चार वर्षअघि तोडिएको सम्बन्ध फेरि ‘छक्का पञ्जा–४’मा जोडिएको छ । निर्मल शर्मा गैँडा चार वर्षपछि दीपक–दीपासँगै देखिने भएका छन् । यो अवधिमा दीपक–दीपा र निर्मल शर्माबीचको विवाद यति उत्कर्षका थियो कि फिल्म त परको कुरा कुनै पनि गाईजात्रा महोत्सवमा समेत एकै मञ्चमा देखा परेनन् । अब लामो अन्तरालपछि उनी ‘गुरु बा र आमा’सँग सहकार्यमा फर्किएका छन् ।

उता, दीपक–दीपा समूहको पहिलो फिल्मदेखि पछिल्लो फिल्म ‘छ माया छपक्कै’सम्म अभिनय गरेका जितु नेपाल भने ‘छक्का पञ्जा ४ बाट फालिएका छन् । फिल्मको कार्यकारी निर्मातासमेत रहेका केदार घिमिरेले जितुलाई फिल्मको कुनै दृश्य वा गीतमा मात्र भए पनि राख्न प्रयास गरेका थिए तर प्रयास सफल हुन सकेन ।

केदारको प्रस्तावमा दीपा सकारात्मक नहुँदा जितु नेपाल नअटाउने भएका हुन् । दीपाले जितुलाई आफ्नो फिल्ममा समेट्न नखोज्नुको मुख्य कारणचाहिँ यसअघि जितुले सञ्चालन गर्ने कमेडी शोबाट दीपाश्रीको हाँस्ने जिम्मेवारी खोसेर करिष्मा मानन्धरलाई दिनुलाई मानिएको छ ।

चलचित्रबाट नहटाएको भए पनि ‘बैगुनीलाई गुनले मार्न, अग्रसर देखिन्थे जितु अस्ति भक्तपुरमा । सूर्यविनायकमा फिल्म ‘छक्का पञ्जा ४’को शुभसाइत हुँदै गर्दा जितु हातमा फूलको बुके बोकेर मन्दिर पुगेका थिए । उनले दिएको शुभकामना दीपक र केदारले लिए । जितु त्यहाँ पुग्दा दीपा देखिइनन् ।

यता, दीपाश्री निरौलाबाट छक्का पञ्जाको निर्देशकको जिम्मेवारी खोसिएको छ । यसअघिका सबै सिरिज दीपाश्रीले निर्देशन गरेकी थिइन् । यसपटक दीपाश्रीलाई हटाएर हेमराज बिसीलाई भिœयाइएको छ ।

मुस्कानवाला सिनेमा खेल्छन् त मन्त्रीले ?

कोही अभिनेतालाई नेता बन्ने रन्को छ, भइसकेका कोही नेताचाहिँ अभिनेता बन्ने भाऊँतोमा लागेका छन् । वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई मात्र होइन मधेश प्रदेशको मुख्यमन्त्री लालबाबु राउतमाथिसमेत यस्तो भाऊँतो आइलागेको हो । उनीहरू एउटा चलचित्रमा अभिनय गर्दै छन् । जम्मा मन्त्री नायकको भूमिकामा देखिनेछन् ।

केही महिनाको अमेरिका बसाइ सकेर फर्किएका रमित ढुंगानाले अस्ति आइतबार वन तथा वातावरण मन्त्रालयमा पुगेर मन्त्रीसँग छायांकनको योजनाबारे छलफल गरेका छन् । साउन अन्तिम सातादेखि वीरगञ्जमा छायांकन हुन लागेको सो चलचित्रमा मन्त्री यादवले तीन दिन समय दिने वचन दिएको जनाइएको छ । यद्यपि, यादवले अहिले थपिएको जिम्मेवारीका कारण आफूले चलचित्रमा काम गर्न नसक्ने जवाफ दिएका छन् ।

‘रमित ढुंगाना फिल्मस’को ब्यानरबाट रमितले एसिड पीडित मुस्कान खातुनको विषयमा चलचित्र बनाउन लागेका हुन् । यसको लेखन तथा निर्देशक शिवम् अधिकारीले गर्नेछन् । एक करोड लागतमा यो चलचित्र निर्माणका लागि भन्दै यसअघि नै वीरगञ्ज महानगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरिसकेको छ ।

रमितले मुस्कानले भोग्नुपरेको पीडालाई हामीले चलचित्रको पर्दामा देखाउन खोजेको र चलचित्रबाट एसिड आक्रमण नगर्ने सन्देश दिन सिनेमा निर्माण गर्न तम्सिएको सुनाए । वीरगञ्जकी मुस्कान खातुनमाथि ०७६ भदौ २० गते बिहान रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा पढ्न जाँदै गर्दा एसिड प्रहार भएको थियो । सामाजिक कथावस्तुमा सिनेमा बनाउँदै आएका रमितले यसअघि ‘बुद्ध बर्न इन नेपाल’ निर्माण गरिसकेका छन् ।

टिप्पणीहरू