माओवादी पत्रकारका नेतालाई चितवनमा सम्मान

माओवादी पत्रकारका नेतालाई चितवनमा सम्मान

प्रेस सेन्टर नेपालको केन्द्रीय उपाध्यक्ष र सचिवमा चुनिएका पत्रकार सुरेशचन्द्र अधिकारी र शान्ता अधिकारीलाई चितवनमा सम्मान गरिएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले आज (मंगलबार) बिहान आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी अधिकारीद्वयलाई सम्मान गरेको हो ।

बधाई तथा सम्मानका लागि आयोजित उक्त कार्यक्रममा बोल्दै उपाध्यक्ष सुरेशचन्द्र अधिकारीले पदाधिकारी चयनमा संगठनको विधि, पद्धति र विधान उल्लंघन भएको बताए । यसले संगठन कहाँ पुग्ला भन्ने संशय जन्मिएको भन्दै उनले भोलिका दिनमा सच्चिएर जान आवश्यक भएको बताए । यसका लागि जिल्ला शाखाहरुले खबरदारी गर्नुपर्ने उनले बताए ।

पार्टी एकता जोगाउनका लागि उक्त निर्णय स्वीकार गरिएको बताउँदै उनी भन्छन्, ‘यस्तो नहुनु थियो, भयो । जेहोस्, संगठनलाई मजबुत बनाउनुछ, श्रमजीवी पत्रकारहरुको हकहितमा काम गर्नुछ, संगठनका साथीहरुलाई अगाडि बढाउनुछ ।’पदाधिकारीमा चयन अधिकारीद्वयलाई बधाई दिँदै कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र अधिकारीले चितवनका नेताहरुलाई केन्द्रीय भूमिकामा पुर्याउन सँधै लागिपर्ने बताए । काठमाडौंपछि मुलुकको राजनीतिक केन्द्र चितवन नै भएकाले चितवनको एउटा मिसन बनाउन जरुरी रहेकोतर्फ प्रेस सेन्टरका पत्रकारहरुलाई झक्झक्याए ।

‘मिडियाको शक्ति थाहा छ तर म मिडियामा धेरै एक्सपोज भएको छैन’, पार्टीका जिल्ला अध्यक्ष अधिकारीले भने, ‘पत्रकारिताभित्रको मनोविज्ञान बुझ्ने कोसिस गरिरा’छु ।’ संगठित पत्रकारका साथै बाहिर रहेका शुभचिन्तकहरुलाई पनि समेटेर स्वतन्त्र ब्यानरबाट अगाडि बढ्न र पार्टीको राजनीतिक मिसनमा सहयोगी बन्न प्रेस सेन्टरलाई उनको आग्रह छ ।

अधिकारी प्रेस सेन्टर चितवनका संस्थापक अध्यक्ष हुन् । यस्तै शान्ता अधिकारी, केन्द्रीय सदस्य प्रकाश ज्ञवाली, चिन्तामणि पौडेललगायतले पनि चितवनमा प्रेस सेन्टरलाई स्थापित गर्न ठूलो भूमिका खेलेका बताइएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनका अध्यक्ष सूर्य पाठकले भने, ‘उहाँहरुले गर्दा नै आज यहाँ यो अफिस छ, हामी छौं र यसरी कार्यक्रम गर्न पाएका छौं ।’ अब जग्गा खोजेर संगठनको भवन बनाउन पनि सबैले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

गत मंसिरमा चितवनमा प्रेस सेन्टर नेपालको महाधिवेशन सम्पन्न भएको थियो । त्यतिबेला अध्यक्षमा विष्णु सापकोटा ‘जुगल’ लाई चयन गरिए पनि अन्य पदाधिकारीको टुंगो लाग्न सकेको थिएन । प्रेस सेन्टर नेपालको गत शुक्रबार र शनिबार काठमाडौंमा बसेको पूर्ण बैठकले ६१ सदस्यीय पदाधिकारी चयन गरेको हो ।

टिप्पणीहरू