पागल पो बनाउँछ हो अचेलको प्रेमले

पागल पो बनाउँछ हो अचेलको प्रेमले

भुइँको धुलोलाई उठाएर जसलाई शीरमा सजाएँ, उसैले धोखा दियो । हृदयबाट गरिएको पवित्र प्यारलाई प्रयोग मात्र ग¥यो । जसलाई चोखो माया गरें, त्यो मायाको अर्थ बुझ्नुपर्नेले बुझेन । जन्मिएँ काठमाडाैँमा । यहाँको रैथाने, सामान्य किसानको छोरा । त्यतिबेला एकाध निजी विद्यालय (बोर्डिङ) भए पनि सरकारी स्कूलमै अध्ययन आरम्भ भयो । ऊ बेलासमेत पिताजीले छोरालाई सरकारी स्कूलमा भर्ना गरेर मेरो बहिनीहरूलाई निजी विद्यालयमा भर्ना गर्नुभएको थियो । बुवाले ०२२ सालमा म्याट्रिक (एसएसलसी) गर्नुभएको हो । चाहनुभएको भए सहजै सरकारी जागिर खान सक्नुहुन्थ्यो तर खेती किसानीतिर रम्नुभयो ।

सायद पिताकै केमेष्ट्रीले गर्दा होला म पनि जागिरको खोजीमा कहिल्यै कतै हिँडिनँ । स्कूले शिक्षा श्री नेपाल र राष्ट्रिय निर्माण विद्यालयबाट आरम्भ भयो । मावि बनिसकेको थिएन । तिनताक सुकुल र बोरा बिछ्याएर नेपाली अक्षर क, ख, ग र अंग्रेजी अक्षर ए, बी, सी, डी कण्ठस्थ गर्नुपर्ने अवस्था थियो । डेस्क र बेञ्चको कुनै प्रबन्ध थिएन । काठमाडौंस्थित कान्ति भैरव माध्यमिक स्कूलमा ७ कक्षामा भर्ना हुन पुगेँ । विद्यार्थी जीवन अध्ययनभन्दा पनि साहित्य क्षेत्रमै बित्यो । स्कूले जीवनमा कथा, निबन्धभन्दा बढी कविता लेख्न रुचाउँथेँ । एसएलसी उत्तीर्ण गरेसँगै जनयुद्धमा लागियो । जनयुद्धपछि भूमिगत काम गरियो । ०६१ मा सरकार र माओवादीबीच १२ बुँदे सम्झौता भयो । सोही बेला घर फर्किएँ ।

जीवन आखिर संयोग न हो ! त्यही संयोगले भेटिए चर्चित कलाकार र प्रारम्भ भयो नेपाली प्रहसन । चर्चित टेलिश्रृंखला शंख एण्ड चक्र तीते करेली, सिस्नुपानी झ्याम्मैमा हुँदै तोरी लाउरे, ताल न बेताललगायत हाँस्य टेलिसिरियल निर्माण गरें । भनिन्छ नि मान्छेका लागि सबैभन्दा प्रिय हुन्छ आफ्नो इतिहास । तिनै अनुभवलाई समेटेर एउटा कम्पनी दर्ता गराएँ । सदैव नयाँ–नयाँ प्रयोग गर्न रुचाउने मान्छे । कार्यालय खोले । त्यही कार्यालयमा जागिरको सिलसिलामा जोडिएकी हुन् उनी । नाम अंग्रेजी अक्षरको एमबाट उठ्छ ।

भन्थिन्, घर गएर आएको सर ! म पत्याउँथें । एक दिन अफिस छाडेर हिँडिन् । म आफ्नै काममा अल्झिरहेको थिएँ । त्यसको दुई दिनपछि विवाह गर्न लागेको सुनाइन् ।

सात वर्षदेखि मसँग जोडिइन् । निम्नवर्गीय परिवारबाट आएकी उनी । काठमाडौंमा धौधौ थियो जीवनयापन गर्न । एसएलसीपछि उच्च शिक्षा अध्ययन गर्ने योजनाका साथ राजधानी भित्रिएकी । डेरा लिएर बस्न सक्ने अवस्था थिएन । कलेज पढ्नु त परको कुरा । कार्यालयमै खाने र बस्ने व्यवस्था मिलाइदिएँ । बिहानको सिफ्टमा पढ्ने गरी कलेज भर्ना गरिदिएँ । त्यही अफिसमै बसेर प्लस टुदेखि ब्याचलर उत्तीर्ण गरिन् । रहँदा, बस्दा उनमा पनि कलाकारिताको भूत चढ्न थाल्यो । अभिनय सिक्न थालिन् ।

हरेक कोणबाट उनीभन्दा म सिनियर । तर, हामीबीच सिकारु र सिनियर भन्ने बार रहेन । जहाँ प्रेम हुन्छ, त्यहाँ केही बार नै रहँदैन । कलाकारितामा बामे सर्दै गरेको उनको हात समाएर एउटा सबल र सक्षम कलाकार बनाएँ । विभिन्न टेलिशृंखलामा काम गर्न थालिन् र यति पोख्त भइन् कि मैले निर्माण गर्ने टेलिशृंखलाको मुख्य रोलमै अभिनय गर्ने जिम्मेवारी पाइन् । त्यतिखेर युट्युबको ट्रेडिङमा पथ्र्याे हाम्रो टेलिसिरियल । कलाकार बन्न कति संघर्ष गर्नुपर्छ, अग्रजहरूको कति थरी टोकसो सहनुपर्छ त्यो त भुक्तभोगीलाई मात्र थाहा छ । त्यस्तो कष्ट उनले कहिल्यै भोग्नुपरेन । उनले त्यस्तो भोग्नु नपरोस् भनेरै प्रशिक्षण दिएको थिएँ ।

र, ०७० सालदेखि ७८ सालसम्मका ८ वर्षमा उनी एक कुशल र अब्बल कलाकर्मी बनिसकेकी थिइन् । यो ८ वर्षमा हामी एउटा निर्माता र कलाकारमा मात्र सीमित रहेनौं । हामी प्रेमी/प्रेमिका भन्ने विषय उनका बुबा आमा, मामादेखि आफन्तलेसम्म चाल पाइसकेका थिए । धेरै पटकसँगै उनको घरमा जाँदा बुवा, आमाले छोरीलाई राम्रोसँग ख्याल गर्नुहोला भन्थें । मैले उनलाई निःस्वार्थ माया र प्रेम मात्र गरिरहें । तर, उनले जतिञ्जेल रस चुसिन् र रस निख्रिएपछि कागतीझैँ निचोरेर दोबाटोमा फालिदिइन् । मसँग लिनुपर्नेजति फाइदा लिएर अन्यत्रै मोडिइन् ।

सरकारी टेलिभिजनमा मिडिया हबजस्ता संस्थाहरूको एकलौटी राज हुँदा उनीहरूसँग पैंठोजोरी खेल्ने कलाकार हुँ म । मिडियाका त्यस्ता डनसँग लड्ने म उनी र उनको अगाडि हारें । लड्न सकिनँ । प्रेमले उत्साह, उल्लास दिनुपर्ने हो तर झन कमजोर बनाउँदो रहेछ । कार्यालय बस्दा हरेक शुक्रबार हराउँथिन् र शनिबार अबेर मात्रै कोठामा झुल्किन्थिन् । भन्थिन्, घर गएर आएको सर ! म पत्याउँथें । एक दिन अफिस छाडेर हिँडिन् । म आफ्नै काममा अल्झिरहेको थिएँ । त्यसको दुई दिनपछि विवाह गर्न लागेको सुनाइन् । जीवनको आठ वर्ष सानो र थोरै समय होइन ।

यो अवधिमा उनलाई कलाकारिता औधि प्रिय लाग्यो । अहिले आएर मन परेन रे कलाकार । रोजिछन् इञ्जिनियर । विवाहमा मलाई बोलाउने रहर थियो रे तर म गएको भए बबाल मच्चाउँछु भनेर निम्तो नगरेकी रे ! बबाल गर्न चाहने हो भने त अहिले पनि गर्न सक्छु । उसको र मेरा धेरै तस्बिर छन्– ती सार्वजनिक गर्न सक्छु । तर, मेरो त्यस्तो नीच स्वभाव छैन । मैले अरुकै मुखबाट सुनें यो कुरा । विवाहपछि मलाई भेट्न तारन्तार फोन सम्पर्क गरिरहेकी छन् । अब मसँग किन भेट्नु र उनलाई ? कामै के छ ? उसले अरु नै रोजेपछि धेरै दिनसम्म एकोहोरो हुने र टोलाउन गर्न थालें ।

जसलाई हृदयदेखि नै प्यार बर्साएको थिएँ । उसकै धोखाधडी र जालझेलका कारण डिप्रेसनको शिकार भएँ । झण्डै चार महिना निकै कष्टकर रह्यो । अहिले केही तंग्रिएको छु । अलि निको भएपछि उनीमाथि गरेको लगानीको हिसाबकिताब निकालेँ । ६ वर्षमा १७ लाख लगानी गरिएछ । थक्थकाउँछु यत्रो रकम मेरो बुवा आमाको हितमा लगानी गर्न पाएको भए ! खैर अब गइसकेको समय कोट्याएर हुने केही हैन । न समय फिर्ता आउनेवाला छ, न त उनीमाथि गरिएको लगानी नै ! न त मेरो माया नै फिर्ता हुने हो ।

टिप्पणीहरू