माधव नेपालद्वारा सडक शिलान्यास, मन्त्रीद्वारा निर्माण सम्पन्नको प्रतिबद्धता

माधव नेपालद्वारा सडक शिलान्यास, मन्त्रीद्वारा निर्माण सम्पन्नको प्रतिबद्धता

सहरी विकासमन्त्री मेटमणि चौधरीले शिलान्यास भएका सबै योजनाहरु समयमै सकिने बताउनुभएको छ । उहाँले पूर्वप्रधानमन्त्री एवमं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालद्वारा रौतहटको राजदेवी नगरपालिकामा आयोजित सडक शिलान्यास कार्यक्रममा उक्त जानकारी गराउनुभएको हो ।

सहरी विकास मन्त्रालयको आर्थिक वर्ष २०७९–०८० को वार्षिक विकास कार्यक्रमअनुसार विनियोजित सहरी पूर्वाधार निर्माण अन्तर्गत गौर नगरपालिका–२ मा सभाहल, राजदेवी र गौर नगरपालिकाका विभिन्न सडक कालोपत्रे तथा ढलानसम्मका योजनाहरु राखिएका छन् ।

गौरमा बन्ने सभाहलको अनुमानित लागत २० करोड रुपैयाँ छ । पाँच सय सिट क्षमताको सभा हल करिब छ कट्ठा क्षेत्रफलमा बन्न लागेको हो । वातानुकुलित, अपाङ्गमैत्री, भूकम्प प्रतिरोधी, आपतकालीनद्वार, वाटर फाउन्टेनसहित सुन्दर पार्कसमेत रहने बताइएको छ । यसको निर्माण कार्य दुई वर्षभित्र सम्पन्न हुने आयोजनाको लक्ष्य छ ।

गौर नगरपालिका ४, टिकुलिया मठदेखि तटबन्धसम्म र ट्रान्फर्मर चोकदेखि मुडवलवासम्म सडक कालोपत्रे तथा ढलान गर्न १२ करोड, रामजानकी विवाह मण्डप निर्माणका लागि आठ करोडका आयोजना पनि तय गरिएको छ । साथै, राजदेवी नगरपालिका १ देखि ९ वडासम्मका विभिन्न स्थानका सडक कालोपत्रे तथा ढलानका निम्ति पाँच करोड रुपैयाँ छुट्याइएको छ ।

शिलान्यास समारोहमा संघीय संसदको विकास तथा प्रविधि समिति सभापति कल्याणी कुमारी खड्का, संघीय सांसद सरला यादव, मधेश प्रदेश सरकारका मन्त्री तथा प्रदेश सभा सदस्यहरुको उपस्थिति थियो ।

टिप्पणीहरू