एमाले अखिलले फेरि आन्दोलन गर्ने

एमाले अखिलले फेरि आन्दोलन गर्ने

प्रमुख प्रतिपक्ष नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले इन्धनको भाउ तत्काल समायोजन नगरिए आन्दोलनमा उत्रने चेतावनी दिएको छ । अनेरास्ववियु अध्यक्ष सुनिता बरालद्वारा जारी विज्ञप्तिमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरे आन्दोलन गर्ने चेतावनी दिइएको हो ।

भारतले पछिल्लो १५ दिनमा पेट्रोल र डिजेलको मूल्य दुई पटकसम्म घटाएर पठाएको उल्लेख गर्दै अध्यक्ष बरालले निगमले घाटाको बाहाना गरेर इन्धनको भाउ नघटाएको आरोप लागएकी छन् ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घटिरहेको अवस्थामा पनि आयल निगम जनतालाई महँगीको भारी बोकाउन लागिपरेको उनको दाबी छ । पेट्रोलियम पदार्थमा निगमले आफ्नो कमजोरी लुकाएको भन्दै अध्यक्ष बरालले निगमले आफ्नो नाफाको लागि मूल्य समायोजन नगरिएको आरोप लगाइन् ।

‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घटिरहेको अवस्था पनि आयल निगम जनतालाई महँगीको भारी बोकाउन लागि परेको छ । जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका पेट्रोलियम पदार्थमा निगमले आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखी मूल्य समायोजन नगरिएकोप्रति अनेरास्ववियुको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

अतिआवश्यक वस्तु र सार्वजनिक यातायातको भाडा महँगिएको बताउँदै अध्यक्ष बरालले भनिन्, ‘देशमा राज्य छ कि छैन भन्ने अवस्था छ ।’

भारतले पछिल्लो १५ दिनमा दुई पटक गरि पेट्रोलमा ३२.५६ रुपैयाँ, डिजेलमा २५.१ रुपैयाँ प्रतिलिटर र एलपी ग्यासमा ७७ रुपैयाँ प्रतिसिलिण्डर मूल्य घटाएको छ ।

टिप्पणीहरू