तपाईंहरूले राजनीति गर्न पाउने, हाम्ले लेख्न नपाउने ?

तपाईंहरूले राजनीति गर्न पाउने, हाम्ले लेख्न नपाउने ?

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन यसै हप्ता वाग्मती प्रदेशको राजधानी हेटौँडामा सम्पन्न भयो । त्यहाँ दुई खेमा चुनावी प्रतिस्पर्धामा उत्रिएको देखियो । एउटाले कांग्रेसको संस्थापन पक्ष (पार्टी सभापति शेरबहादुर देउवा) र अर्काेले नेता शेखर कोइराला, महामन्त्री गगन थापा पक्षको प्रतिनिधित्व गरेको थियो । प्रचारमा आएअनुसार नेपाल टेलिभिजनमा कार्यरत अनिता विन्दूले सरकारी पक्ष र निजी मिडियामा कार्यरत शिव लम्सालले गैरसरकारी पक्षको प्रतिनिधित्व गर्नुभएको थियो । संस्थापन पक्ष सरकारमा रहेकाले कोइराला, थापा पक्षले संस्थापन पक्षकालाई सरकारी र आफूलाई गैरसरकारी भनेर प्रचार गरेको थियो ।

तथापि दुवै पक्षमा सरकार र गैरसरकारी पक्षका पत्रकार नै जुटेर, उठेर विभिन्न पद हासिल गरेका छन् तैपनि सरकारी र गैरसरकारी भनेर प्रचार गरिँदा अनितालाई भन्दा शिवलाई जित्न सजिलो भएको विश्लेषण पनि छ । जेहोस् आवरणमा हेर्दा कांग्रेसी पत्रकारको यो महाधिवेशन आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धाको एउटा उदाहरण भए पनि यसले पत्रकारहरू खुला राजनीति र गुट वा पक्षमा निर्धक्कसँग लागेको अझ प्रष्ट भएको छ । उसो त कम्युनिष्ट विचारधाराका पत्रकार यस्तो राजनीतिबाट टाढा छैनन् । अझ उनीहरूले त आफूहरूको मिडिया कर्म वा पत्रकारितालाई पार्टीकै अर्काे एक कर्म र मोर्चाका रुपमा बुझ्दै आएका छन् ।

त्यसो त यहाँ कुरा पत्रकारको राजनीतिमा मात्र केन्द्रित गर्न खोजिएको होइन । आज मुलुकका सबैजसो पेशा, व्यवसायका जुनसुकै क्षेत्रमा राजनीति हावी छ । यतिसम्म कि न्यायालयजस्तो संवेदनशील क्षेत्रसमेत राजनीतिबाट प्रभावित हुने भइसक्यो । शिक्षा, स्वास्थ्य, कर्मचारीतन्त्र अनावश्यक राजनीतिले आक्रान्त छ । सुब्बा तहको कर्मचारीले सङ्गठनको आडमा काम ठगेको मात्रै छैन, नेता, मन्त्रीको साखुल्ले बनेर, धम्क्याएर, तर्साएर कमाएको छ, स्वार्थ लुटेको छ । सरुवा, ठेक्कापट्टा आफ्ना पक्षमा पारेको छ । यो उनीहरूले राजनीति गरेको होइन । उनीहरूलाई कुनै कानुन, आचारसंहिता लाग्दैन । सोझोलाई मात्रै हो कानुन, आचारसंहिता लाग्ने ।

जबकि राजनीति र अन्य पेशा, व्यवसाय नितान्त फरक विषय हुन् । राजनीति नीतिहरूको नेता हो । अंग्रेजीमा भनिन्छ नि पोलिटिक्स इज ए कमाण्ड । राजनीतिले अरू विषयलाई कमाण्ड वा नेतृत्व गर्ने भएकाले नै यसलाई सबै नीतिहरूको नेता मानिएको हो । त्यसैले राजनीतिका अगाडि सबै कुरा साना हुन् । राजनीति आफैँमा शक्ति हो । त्यही भएर त जहिले पनि राजनीति नै समाचारको प्रमुख विषय बन्ने गर्दछ । एकछिन हेरौँ राजनीति र जागिरलाई । प्रोटोकोलका हिसाबले जागिर सधैँ तल हुन्छ, राजनीति सधैँ माथि । जस्तो कि मन्त्री सुपर पावर हो सचिव पावर त हो सुपर पावर होइन । हाइ¥यार्कीको सोपान प्रणालीका हिसाबले मन्त्री जहिल्यै माथि हुन्छ, सचिव सधैं तल । तर राजनीति र जागिर सँगसँगै हुँदा विरोधाभाष उत्पन्न हुन्छ । अब भनौँ सचिवले आफ्नो प्रशासनिक पेशागत मर्यादा तोडेर राजनीति ग¥यो भने अवस्था कस्तो होला ? परिणाम के आउला ?

एक दिन भनिहाले– तपाईं राजनीति गर्ने ? सचिवबाट राजीनामा दिनुपर्छ । मलाई उनी एउटा क्लबको अध्यक्ष छन् भन्ने थाहा थियो ।

राजनीति र पत्रकारिता त झन् सँगसँगै जानै सक्दैन । यी दुई नदीका किनारा जस्तै हुन् । वास्तविक पत्रकारिता गर्ने हो भने पत्रकार र मिडियाले सधैँ राजनीतिक दल र तिनका खेलाडीहरूलाई चेक एण्ड ब्यालेन्स गरिरहनुपर्दछ । मानौँ, प्रजातान्त्रिक र कम्युनिष्ट विचारका पत्रकार भनेर सैद्धान्तिक रुपमा स्पष्ट हुनु ठीकै हो रे ! यसो हुँदा पनि उनीहरूले आ–आफ्नो सिद्धान्तका हस्तीले गरेका गलत कार्यका विरुद्ध कलम चलाउन सक्छन् ? पेशाप्रति इमान्दार छन् ? यो वा त्यो पक्ष, गुटमा स्पष्ट देखिएका पत्रकार समाचार सम्प्रेषणमा व्यावसायिक रुपमा स्पष्ट छन् ? निजी मिडियामा काम गर्ने पत्रकारले समाचारको कोण विकास गर्दा आफूलाई इमान्दार रुपमा उभ्याएका छन् ?

यिनीहरूले आफ्नो पक्ष वा गुटको फाइदा र समर्थनका लागि समाचारको कोण तानेका छैनन् भन्ने के ग्यारेन्टी ? यसको अनुसन्धान, अनुगमन कसले गर्ने ? कसले गरेको छ ? सिधै भनौँ न, जस्तो सरकारी मिडियामा माथिल्लो तहमा बसेर काम गर्ने अनि खुल्लमखुला राजनीति गर्नेहरू आफ्नो पेशाप्रति इमान्दार, पूर्ण व्यावसायिक छन् ? उनीहरूले आफूलाई तटस्थ रुपमा उभ्याउन सकेका छन् ? यति मात्र हैन, उनीहरू आफ्नो गुटप्रति बफादार र अर्काे गुटप्रति अनुदार हुँदैनन्, छैनन् भन्ने के ग्यारेन्टी ? त्यसैले राजनीति र हरेक क्षेत्रलाई जोड्दा यस्तै विरोधाभाषे जन्मन्छ । हरेक विषय र राजनीति सँगसँगै जानै सक्दैन । तर हाम्रो मुलुकको विडम्बना पेशा, व्यवसायभन्दा राजनीतिले बढी समय लिने गरेकाले हुने कार्य, प्रगति भएको पाइँदैन ।

१० वर्षअघि नेपाल पत्रकार महासंघ काठमाडौँको सचिव हुँदा । हामीले एउटा कार्यक्रम गरेका थियौँ । प्रमुख अतिथि तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो । कार्यक्रममा विभिन्न व्यक्तिका साथै सूचना विभागका महानिर्देशकलाई पनि बोलाइएको थियो । उनी ढिला आए । र, मञ्चमा बोलाउन सकिएन । यथास्थानमा आसन ग्रहणका लागि आग्रह गरियो । उनी एकैछिन बसेर फुत्त बाहिर गइहालेछन् । उनले पक्कै नकारात्मक प्रतिक्रिया दिन्छन् भन्ने लागेको थियो । प्रेस काउन्सिल नेपालमा भर्खर आएपछिको कुरा थियो त्यो । नभन्दै एक दिन भनिहाले– तपाईं राजनीति गर्ने ? सचिवबाट राजीनामा दिनुपर्छ । मलाई उनी एउटा क्लबको अध्यक्ष छन् भन्ने थाहा थियो । त्यसैले ठाडै इन्कार गर्दै भनेँ, एक त म काउन्सिल आउनुअघि नै चुनाव जितेर सचिव भएको, दुई, महासंघमा जितेको पेशागत हिसाबले हो । त्यो सबै पत्रकारको साझा छाता सङ्गठन हो, आर्थिक लाभको पद होइन ।

खास राजनीति पनि हैन । तीन, त्यहाँ बसेर काउन्सिललाई कुनै हानी गरिने छैन । त्यहाँ जाने बिदाका दिन बिहान, बेलुका हो । त्यसैले तपाईंले भन्दैमा राजीनामा दिन पर्दैन । त्यसो हो भने राजनीतिक दलको भातृ संगठनका नाममा खुलेका कर्मचारीकै विभिन्न सङ्गठन खारेज गर्नुपर्छ, त्यहाँका सबैले राजीनामा दिनुपर्छ । अनि तपाईँले पनि त्यो क्लबबाट राजीनामा दिनुपर्छ । हाम्रै अफिसका रामशरण बोहराजीलाई पनि कर्मचारी सङ्गठनको अध्यक्ष पदबाट राजीनामा दिन लगाउनुपर्छ ।

मैले यसो भनेपछि तिनले कहिल्यै त्यो कुरा उठाएनन् । पछि उनै नेपाली कांग्रेसका नेता सुशील कोइराला काका हुन् भन्दै बिदा लिएर चुनाव प्रचारप्रसारमा खटिएका थिए । भनेपछि कुरा बुझिहाल्नुभयो नि उनले कसरी, कस्तो राजनीति गर्दारहेछन् ! अरुलाई आदर्श सिकाउनेको आदर्श कस्तो रहेछ ? तिनले मैले पेशागत संगठनमा निभाएको धर्मलाई राजनीति देखे तर सरकारी प्रथम श्रेणीको कर्मचारी भएर आफैँले विदा लिइलिई गरेको प्रचारप्रसारलाई राजनीति देखेनन् । यस्तै यस्तै चित्र, विचित्रका पात्रहरू छन् अहिले पनि । आफैँ पार्टीका विभिन्न राजनीतिमा सक्रिय छन् । स्पष्ट रुपमा कार्यकर्ता भएर हिँडेका छन् । झण्डा बोकेका छन् ।

कतिपयले त पत्रकार नै भएर पनि गत वैशाख ३ गते सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीको सक्रिय कार्यकर्ताले झैँ पेशागत मर्यादाविपरीत आफ्नो पार्टी र उम्मेदवारलाई जिताउन खुला आव्हान गरेका थिए । सरकारी मिडियामा जागिर खाएर बाहिर काम गर्ने र मिडिया चलाउने मानिस पनि छन् यहाँ । तिनै र यस्तै मान्छेहरू भन्छन्, हामीले लेख पनि लेख्न हुन्न रे ? लेखेको देखेर जीब्रो टोक्दै सोध्छन्, तपाईंले त्यसरी लेख्न मिल्छ ? लेख्न मन लागे छद्म नाम राखेर लेख्नु न । यस्ता मान्छेलाई मुखभरि जवाफ दिन मन लाग्छ । किन मिल्दैन लेख्न ? तपाईँहरूले पत्रकार भएर पनि, जागिर खाएर पनि खुलेआम राजनीति गर्न हुन्छ हामीले लेख्न हुँदैन ? लेखन फरक पाटो हो । गाउनु, बाजा बजाउनुजस्तै सीप, कला हो । लेख्नु र राजनीति गर्नु एउटै विषय होइन । लेखन विवेकबाट प्रष्फुटन हुन्छ ।

लेखन विचार पनि हो । इमान्दारीसाथ लेखिएको विचारले कसलाई हान्छ थाहा हुँदैन । विवेकशील लेखकले जे देख्छ, त्यही लेख्छ । राजनीतिले त्यसो भन्दैन । राजनीति आफ्नो स्वार्थमा बाँधिएको हुन्छ । त्यसैले लेख्न पाइन्छ । हो, लेख्दा आफूआबद्ध संस्थाको हितविपरीत लेख्न हुन्न । त्यो पेशागत नैतिकता पनि हो । त्यसैले तपाईंले राजनीति गर्न पाउने, हामीले लेख्न पनि नपाउने ? के जागिर खानेले गाउन नमिल्ने ? नाच्न नमिल्ने ? रुनु पनि उसको सीप हो, के बच्चाले रुन नपाउने ? चराहरू कराउन नहुने ? पानीले कलकल आवाज छाड्न नमिल्ने ? ताराहरू चम्कन नपाउने ?

टिप्पणीहरू