विप्लव अदालत नजाने, सशक्त प्रतिकार गर्ने

विप्लव अदालत नजाने, सशक्त प्रतिकार गर्ने

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशलाई पुनः द्वन्द्वमा धकेल्न खोजिएको भन्दै त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी दिएको छ ।

ललितपुर जिल्ला अदालतले विभिन्न चार वटा मुद्दामा महासचिव विप्लवसहित नेता-कार्यकर्तालाई आज पक्राउ पुर्जी जारी गरेपछि प्रवक्ता खड्गबहादुर विश्वकर्मा “प्रकाण्ड”ले यस्तो चेतावनी दिएका हुन् । आज अपराह्न विज्ञप्ति जारी गर्दै उनले अदालतले जारी गरेको पुर्जीलाई शान्ति प्रक्रिया भाँड्ने र देशलाई पुन: दद्वन्द्वमा धकेल्ने कदम भनेका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘सरकारसँग वार्ता जारी रहेको अवस्थामै अदालतबाट यस्तो सूचना जारी हुनु सरकारको शान्ति प्रक्रिया भाँड्ने, देशलाई पुनःद्वन्द्वमा धकेल्ने कदम हो । सरकारसँग वार्तापछि भएका सहमति कार्यान्वयनको चरणमै छ । सहमतिअनुसार सरकारले काम गरिरहेको छैन ।’

ललितपुर अदालतले नेकपाका नेता-कार्यकर्तामाथि लागेका मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएको भन्दै ६ साउन ०७९ को आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।

प्रचण्ड नेतृत्वको माओवादीबाट बिद्रोह गरी सशस्त्र संघर्षमा होमिएको विप्लव समूह २०७७ साल फागुन २० गते तत्कालीन सरकारसँग तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा फर्किएको थियो । उक्त सहमतिको तेस्रो तथा अन्तिम बुँदामा जेलमा रहेका उसका कार्यकर्ता रिहाइ गर्न र मुद्दा फिर्ता लिन सरकार तयार रहेको उल्लेख छ ।

त्यसअघि हिंस्रक घटना घटाएको सो समूहविरुद्ध देशैभरि उजुरी परेका थिए । तर,अझै पनि मुद्दा फिर्ता भएका छैनन्, जसका कारण अदालतले समय-समयमा उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गर्दै आएको छ।

टिप्पणीहरू