मन्त्री र मन्त्राणी टिकटकमा मख्ख

मन्त्री र मन्त्राणी टिकटकमा मख्ख

विश्वभरका युवा पुस्तामाझ लोकप्रिय रहेको चिनियाँ एप्स टिकटकका प्रयोगकर्ता पछिल्लो समय नेपालमा पनि बढिरहेका छन् । प्रयोगकर्ता बढेसँगै यसको प्रयोग गर्ने तरिकामा पनि परिवर्तन भइरहेको छ । तथापि अधिकांशले मनोरञ्जनका लागि नै टिकटक चलाउने गरेको पाइन्छ ।

मनोरन्जन क्षेत्रमा काम गर्ने व्यक्ति र फुर्सदिला युवायुवतीले मात्रै टिकटक चलाउँछन् भन्ने विगतको बुझाइसमेत परिवर्तन भइसकेको छ । अहिले नेता,व्यापारी, बुद्धिजीवीलगायत त्यसैमा झुम्मिएका देखिन्छन् । कतिसम्म भने कुनैबेला सुन्दरी प्रतियोगिता (मीस नेपाल) ले सामन्तवादी पितृसत्तात्मक संस्कृतिलाई बढावा दिएको भन्दै चर्को विरोध गर्ने माओवादी नेताहरुसमेत टिकटकका नियमित प्रयोगकर्ता हुन थालेका छन् । माओवादीनिकट महिला संगठनको नेतृत्व तहमा रहेर काम गरेका तिनै महिला अहिले टिकटकमा आफूलाई प्रदर्शन गरिरहेका छन् ।

हालै माओवादी नेता तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही पत्नी चन्दा शाहीसँगै टिकटकमा रमाएको भिडियो सार्वजनिक भएको थियो । टिकटकप्रेमी चन्दाको एकाउन्टबाट सार्वजनिक उक्त भिडियोमा पूर्वमुख्यमन्त्री शाही जीर्ण पुलको लट्ठा समातेर श्रीमतीको पछाडि उभिएको देखिन्छ ।

न्याय र समानताका लागि भन्दै युद्धमा होमिएका शाहीले उर्लंदो वर्षे भेलमा तुइन तरेर आवतजावत गर्नुपर्ने कर्णालीको बाध्यतालाई मनोरन्जनका रुपमा लिएको भन्दै सञ्जालमै आलोचनासमेत खेप्नुपर्यो ।

टिकटकमा रमाउने अर्को माओवादी जोडी हो,पूर्व मन्त्रीसमेत रहेका कर्णालीकै शक्ति बस्नेत र सत्या पहाडीको । माओवादीमा लागेवापत श्रीमान–श्रीमती नै लगातार सांसद र पटक–पटक मन्त्री हुने अवसर पाइरहेको यो जोडी अहिले टिकटक भिडियोले भाइरल भएको छ । सत्याले आफ्नो एकाउन्टबाट सार्वजनिक गरेको टिकटक भिडियोमा ‘हाम्रो संयुक्त जीवनयात्रा २७ औँ वर्षतिर’ लेखिएको छ भने ’हजार माइलको लामो बाटो एक पाइलाबाट शुरु हुन्छ’ बोलको गीत भरिएको छ ।

त्यस्तै अर्को एउटा भिडियोमा दुर्गम गाउँको बाटोमा लावालस्कर लिएर हिंडिरहेका शक्तिले अगाडि रहेकी सत्यालाई शीरमा फूल सिउरिदिएका छन् ।

महिलाको वाह्य सौन्दर्यलाई प्रचार गरिनु उपभोक्तावादी चिन्तन भन्ने माओवादी नेताहरुको यो प्रवृत्ति छ भने अन्य पार्टीहरुको के होला ? माओवादी छाडेर एमाले पसेका पूर्वमन्त्री टोपबहादुर रायमाझी पनि श्रीमतीसँगै टिकटकमा रमाउने नेतामा पर्छन् । टिकटकमा छाइरहने उनकी श्रीमती सीमा रायमाझीको एकाउन्टबाट सार्वजनिक हुने भिडियोमा टोपबहादुर रमाइरहेका देखिन्छन् ।

पछिल्लो समय सर्वाधिक टिकटक भिडियो बनिरहेको ’मायालुले आऊ भन्छ बेलुका’ गीतमा सीमाले अभिनयसमेत गरेकी छन् भने टोपबहादुर ठिङ्ग उभिएर उनलाई साथ दिइरहेका छन् ।

टिकटकमा रमाउनेमा पूर्वमन्त्री तथा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री पनि छन् । उनले पनि विभिन्न गीतमा अभिनय गरिएको भिडियो बनाएर टिकटकमा राख्ने गरेकी छन् । सामाजिक सञ्जालमा लाइभसमेत बस्ने गरेकी झाँक्री श्रीमानसँगै भने अहिलेसम्म देखिएकी छैनन् ।

टिप्पणीहरू