जिम्मेवारी दिनेबारे पार्टी कहीं चुक्यो कि !
– डा. सागर न्यौपाने, मदन भण्डारीसँगै दिवंगत एमाले नेता जीवराज आश्रितका छोरा
तीन दशकअघि अर्थात् ०५० जेठ ३ गते दासढुंगा दुर्घटनामा परी जननेता मदन भण्डारीसँगै कुशल संगठक जीवराज आश्रितको निधन भयो । त्यो बेला सागर जम्मा दश वर्षको बालक थिए । उक्त घटना भएको तीस वर्ष बितिसक्यो । उनै आश्रितका पुत्र सागर १४ वर्षसम्म उत्तरी छिमेकी मुलुकको बसाइ र पढाइ टुंग्याएर डाक्टरी प्रमाणपत्र बोकी पाँच वर्षअघि नेपाल फर्किए । चीनमा प्राविधिक ज्ञान मात्र सिकेनन्, पार्टी सञ्चालनका तरिका, नेताका कार्यशैली र जनताका पीरमर्का लाई नजिकैबाट गहिरेर अध्ययन गरे । फर्किएको वर्ष दिनपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा खटिए । त्यहाँ साढे तीन वर्ष बिताएर ६ महिनादेखि सियारी गाउँपालिकाअन्तर्गत अमुवा स्वास्थ्य चौकीमा विशेषज्ञका रूपमा सक्रिय छन् । पेट, आन्द्रासम्बन्धी विशेषज्ञ उनकै अग्रसरतामा तीन वर्षअघि जीवराज आश्रित प्रतिष्ठान खोलियो । तर आर्थिक अभावमा प्रतिष्ठानलाई अघि बढाउन समस्या भएको बताउँछन् ।
– हरि गजुरेल
नेताको छोरा भइकन पनि राजनीतिमा नलागेको पेशाकर्मी हुनुहुन्छ । यो परिचयले व्यक्तिगत र पेशागत जीवनमा के फरक पार्दो रहेछ ?
– सन् २००२ मा चीनमा गएँ, ०१६ मा पढाइ सकाएर फर्किएँ । यता, आएपछि ज्ञानको उपयोग गर्नुपर्ने बाध्यता हुँदोरहेछ । पेशा र राजनीति सँगै लैजान चाहेर पनि सम्भव नहुँदो रहेछ । फेरि नेपालको सन्दर्भमा राजनीति सिष्टमेटिक छैन र यसप्रति एकदमै आकर्षण पनि होइन तर आफ्नो व्यवसायका कारण राजनीतिमा लाग्न नपाएकोमा पछुतोचाहिँ हुँदो रहेछ ।
बुबाहरूले बनाएको पार्टी आज के ठीक ठाउँमा छ जस्तो लाग्दैछ ?
– एकदमै ठीक छ त कसरी भन्नु ? बुवाहरु ०४८ सालसम्म पार्टीलाई देशव्यापी रूपमा, जनताको माझमा पुर्याउँदै हुनुहुन्थ्यो । पार्टी लोकप्रिय हुँदै थियो । ०५० सालमा बित्नुभयो । त्यतिबेला र अहिलेको समाजका मान्छेको आकांक्षामा धेरै परिवर्तन भइसकेका छन् ।
बुवाले बनाउनुभएको पार्टी पहिला राम्रो थियो, अहिले नराम्रो छ भन्न त मिल्दैन । तीन दशक व्यतित भइसकेको छ । फरक फरक समयमा छौं हामी । पहिला पार्टीपंक्ति, कार्यकर्ता, नेता अलि बढी अनुशासित र इमान्दार हुन्थे, अहिले कम्युनिष्ट विचारधाराबाट अलिकति चुकेको हो कि भन्ने भान हुन्छ ।
जहाँ पनि मदन भण्डारीका छोरीहरुको चर्चा र पदीय जिम्मेवारीमा सक्रियता छ । उहाँसँगै बित्नुभएको जीवराम आश्रित, जो कुशल संगठक र संगठन विभाग प्रमुख हुनुुहुन्थ्यो, उहाँका छोराछोरीचाहिँ कतै सिनमा देखिन्नन् । किन दिदीभाइ सेलाएको ?
– बुवा कहिले पनि लाइम लाइटमा आउन खोज्नुभएन । उहाँलाई दुई पटकसम्म साथीभाइले महासचिव अफर गर्दा उहाँले छड्नुभएको रहेछ । उहाँको नेचर जनताको बीचमा गएर मीठा–मीठा भाषण गर्नेभन्दा कसरी संगठनलाई बलियो र मजबुत बनाउने भन्नेतिर केन्द्रित रह्यो । मदन भण्डारी त्यतिखेर पपुलर नेता, पार्टीको महासचिव पनि ।
बुवासँगै बित्नुभएपछि एक नम्बर नेताकै नाम बढी आउने भयो । यो स्वाभाविकै कुरा हो । यससँगै उहाँको परिवारले बढी चासो र चर्चा पाउनु पनि अन्यथा भएन । तैपनि पार्टीले जीवराज आश्रितलाई कुशल संगठकका रूपमा जति श्रद्धा दिनुपथ्र्याे त्यतिचाहिँ नदिएको हो कि ! पार्टी जोड्नदेखि मदन भण्डारीलाई राजनीतिमा ल्याउन पनि बुवाकै भूमिका रहेको कुरालाई नजरअन्दाज गरिएको हो कि ?
उसोभए तपाईंहरु ओझेल पर्नु आत्मसन्तुष्टिकै कुरा भयो, हैन त ?
– यस्ता कुरालाई सब्जेटिक होइन अब्जेटिक रूपमा लिनुपर्छ । सम्माननीय राष्ट्रपतिज्यू आफैं राजनीतिक रूपमा केही गर्नुपर्छ भनेर लाग्नुभयो । मदन भण्डारी निर्वाचित हुनुभएको काठमाडौं क्षेत्र नम्बर २ बाट लड्नुभयो । उहाँले त्यस्तो बेला, उमेरमा जुन आँट लिनुभयो त्यो सराहनीय र प्रशंसनीय कदम थियो । यसरी उहाँले विद्यार्थीकालकै आफ्नो राजनीतिक क्षमतालाई विकास गर्दै लैजानुभयो । त्यही कारण उहाँ र परिवार बढी चर्चामा आउने नै भयो । मेरो ममीको सन्दर्भमा उहाँ अस्थायी जागिरे हुनुहुन्थ्यो । जागिरलाई निरन्तरता दिनुभयो ।
कतिपय सवालमा आफ्नो क्षमता हुँदाहुँदै पनि भेगीय राजनीतिले धेरै ठूलो प्रभाव पार्दाेरहेछ । त्यहाँका कार्यकर्ताको प्रोत्साहन वा ढाडस निकै महत्वपूर्ण हुने रहेछ । पार्टी केन्द्रभन्दा पनि कस्तो धरातलबाट आउनुभएको छ त्यसमा पनि धेरै कुरा निर्भर हुने गर्छ । विकट ठाउँ भएको कारण ममीले राजनीतिमा भिज्न त्यति आँट गर्न सक्नुभएन । चुनावमा जो खटिएका छन् उनैलाई प्राथमिकता दिनुपर्छ भन्नेमा उहाँको जोड रह्यो ।
त्यतिबेला बुवाकै नामबाट राजनीतिमा अगाडि बढाउनुपर्छ भन्ने कुरामा पार्टीबाट हाइलाइट गर्ने काम नभएर पनि होला । कतिपय प्रसंगमा व्यक्तिगत स्वभाव, परिस्थिति, पारिवारिक जिम्मेवारीको पनि हात रहन्छ । अर्काे पाटो भनेको आवश्यक्ता र अनुकूलताअनुसार जिम्मेवारी दिनेबारे कहीँ पार्टी पंक्ति चुक्यो वा त्यसअनुसार सोचिएन कि भन्ने पनि लाग्छ !
तीन वर्षअघि नै जीवराज आश्रित फाउण्डेसन खुलेको थियो । अहिले किन चल्न सकेन ?
– १४ वर्ष चीनमा रहने क्रममा त्यहाँको कम्युनिष्ट पार्टी र नेताहरूका काम देख्दा अनुशासनले बुबाको झल्को आइरहन्थ्यो । त्यहाँका नेताको जीवनशैली र खटाइ अनि बुबाको व्यवहारमा मेल खान्थ्यो । बुवाका बारेमा थप खोज अध्ययन र अनुसन्धान गर्नुका साथै नेपालका कम्युनिष्ट पार्टी कसरी चल्नुपर्छ भन्ने विषयमा सुझाव दिने, स्वास्थ्य र संस्कृतिको क्षेत्रमा काम अगाडि बढाउने उद्देश्यले तीन वर्षअघि फाउण्डेशन खोलिएको हो ।
अहिले पनि संस्था नवीकरण, कर तिर्ने काम भइरहेको छ तर, कार्यक्रम खासै ल्याउन सकिएको छैन । संस्था खोलिसकेपछि सरकारले प्रतिष्ठानलाई अनुदान नदिने नीति ल्यायो । त्यो नीतिबाट हामी पीडित भयौँ । सम्बन्धित मन्त्रालयबाट सुनुवाइसमेत भएन । पार्टी अध्यक्ष, अन्य कमरेडले सदाशयता त देखाउनुहुन्छ । अर्काे कुरा, हामी आफैँले पर्याप्त समय दिन सकेनौं ।
केहीअघि एमालेको विदेश विभागमा तपार्इंको नाम देखिन्थ्यो । अहिले हटाइएको हो ?
– अहिले डिस्कसनको प्रोसेसमा छ क्यारे ! महाधिवेशनको मुखमा मलाई मनोनीत गरिएको थियो । एकातिर मेरो पेशा र बसाइले पनि पार्टीको काम गर्नमा समस्या छ । केन्द्रमा गर्ने कि प्रदेशमा जाने भन्नेमा आफैँलाई कन्फ्युजन भइरहने स्थिति छ ।
तीन वर्षअगाडि नै एउटा पुस्तक निकाल्न खोज्नुभएको थियो, चिनियाँ राष्ट्रपति सि जिनफिङ फर्केपछि । राष्ट्रपतिकै हातबाट विमोचन गराउने तयारी पनि थियो । त्यो काम किन रोकिएको होला ?
– म त्यही बेला जागिरको सिलसिलामा जोडिएर रूपन्देहीतिर खटिएँ । राष्ट्रपति कार्यालयबाट साथीहरूले जिम्मेवारी दिनुभएको थियो । म आफैंले पनि त्यति फलोअप गर्न भ्याइनँ । फोटो फिचर थियो त्यो । पछि किशोर श्रेष्ठ अंकलले छुट्टै राम्रो पुस्तक निकाल्नुभएछ । जसले गरे पनि कुरा एउटै त हो ।
काठमाडौं आउँदा केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग कत्तिको भेटघाट हुन्छ ?
– सम्माननीय राष्ट्रपतिज्यू देशकै सर्वाेच्च पदमा हुनुहुन्छ, उहाँलाई त्यत्तिकै गएर भेटिरहने कुरा पनि भएन । अध्यक्षज्यूसँग पनि ३-४ पटक भेटेको छु । काम परेर, विशेष अवस्था छ भने गएर भेट्ने स्वभाव छ ।
तपाईंको विचारमा माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमजस्ता नेतालाई केपी ओलीले समेट्नुपर्ने कि नपर्ने ?
– पार्टी नै टुक्रा–टुक्रा भएको अवस्था छ । लाग्छ, सबै नेता कम्युनिष्ट पार्टीको एकता होस् भन्ने नै चाहना राख्नुहुन्छ । तर, उहाँहरूले चाहँदा मात्र नहुने हो कि ! पार्टीका अरु नेता–कार्यकर्ताको मनोभावना पनि बुझेर अगाडि बढ्नुपर्ने होला । चुनावी तालमेल वा एकता गरेरै भए पनि कम्युनिष्ट पार्टी एक होस् भन्ने हाम्रो चाहना हो । उहाँहरू पक्कै लागिरहनुभएको होला ।
पछिल्लो समय दलीय राजनीतिलाई स्वतन्त्रका नामले चुनौती दिने प्रयास हुँदै छ । यसको कारण के हुन सक्छ ?
– स्वतन्त्र तवरले राजनीति गरेर जनताको अपेक्षा पूरा गर्न जो युवा आउनुभएको छ त्यो राम्रो कुरा हो । पार्टी मात्र खोल्ने हो भने त्यो देखावटी हुन्छ । हर्क साम्पाङले गरेको काम धेरै राम्रो लाग्छ । यसले एमालेजस्तो पार्टीलाई ज्ञान, प्रोत्साहन पनि दिएको छ । तर, सधैं, सबैतिर स्वतन्त्र व्यक्तिले मात्र चलाउँदाचाहिँ भाँडभैलो पनि हुन सक्छ ।
तपाईंको आमा पहिला माधव नेपालतिर लाग्नुभयो । पछि फेरि केपी ओलीतिरै जानुभयो । कारण के रहेछ ?
– अहिले ६४ वर्षको हुनुभयो । उहाँको वैयक्तिक इच्छा हो कता जाने । हामीले रोक्ने, छेक्ने कुरा भएन । राजनीतिलाई कसरी बुझ्नुभयो त्यहीअनुसार नै लाग्नुभएको होला । त्यतिबेला नेतृत्वको केही अडान देखेर उता जानुभएको होला । पछि केही इस्युमा कुरा मिलेर फेरि फर्कनुभयो होला ।
एक जना घागडान नेताको सुपुत्र, चीनमा १४ वर्ष अध्ययन गरेर नेपाल फर्कनुभयो । संघीय राजनीति, यहाँकै अस्पतालमा जागिर गर्न छाडेर किन स्थानीय तहतिर झर्नुभएको ?
– शुरुदेखि नै भित्रैदेखि केन्द्रमा काम गर्ने रहर जागेन । चीनकै नामी विश्वविद्यालयमा पढेँ । त्यहाँ काम गरेर पनि आएँ । रूपन्देही पहिला बुबाले राजनीति गरेको ठाउँ । हाम्रा नातागोता, इष्टमित्र सबै त्यतै । केही वर्ष प्रादेशिक अस्पतालमा काम गरेपछि नेपालको स्वास्थ्य सेवाको अनुभव लिएँ ।
अहिले पनि बुटवल वरपर नै छु । अब कम्तीमा पनि ५/७ वर्ष काम गर्नुपर्छ भन्ने भावनाले नै यता आएको हुँ । अहिले म जहाँ काम गर्छु त्यहाँ बुबाले पनि लामो समय राजनीति गर्नुभयो, मलाई पनि त्यहीं गएर काम गर्न मन लागेको हो । काठमाडौंमै बसेको भए धेरै सुविधा पाइन्थ्यो होला । तर, मलाई काठमाडौंमा बस्न मन लागेन । यहाँ खुम्चिन्छुजस्तै लाग्यो । आफन्तको सुझाव पनि राजधानीबाहिरै राम्रो हुन्छ भन्ने रह्यो ।
जीवन कसरी बित्दै छ ? अबको प्लान के छ ?
– जीवन ठीकै चलिरहेको छ । अप्ठ्यारो खासै छैन । व्यावसायिक हिसाबले आफूलाई विकास गरिसकेको छैन । प्राइभेट प्राटिक्समा गएको छैन । जहाँ गए पनि जनताको काम वा सेवा गर्न पाउँदा खुशी हुने मान्छे । मैले पढेको पेट, आन्द्रासम्बन्धी हो, पढेको विषय सम्बोधन हुने गरी काम गर्न पाए हुन्थ्यो भन्नेचाहिँ लागेको छ । त्यस्ता रोगीको उपचार हुने संस्थामा काम गर्न इच्छा छ ।
समय दिन सकेको खण्डमा राजनीतिमा सक्रिय हुन मन हुन्छ । मलाई राजनीतिमा नलाग भनेर कसैले पनि भन्छ जस्तो लाग्दैन । बुवाको योगदान र नामकै कारण पनि कसैले रोक्छन्, छेक्छन् भन्ने लाग्दैन । सबैले प्रोत्साहन नै गर्छन् र फाउण्डेसनलाई अलि समय दिएर स्वास्थ्य र संस्कृतिको क्षेत्रमा सक्रिय बनाउने रहर छ ।
टिप्पणीहरू