अमेरिकाको यौटा शहरमा दिनहुँ ४ करोड साइबर आक्रमण

अमेरिकाको यौटा शहरमा दिनहुँ ४ करोड साइबर आक्रमण

विश्वकै व्यस्त बन्दरगाह शहरमध्ये एक मानिएको अमेरिकाको लस एञ्जलसमा दिनहुँ करोडौं साइबर आक्रमण हुन थालेको छ । कोरोना महामारीको प्रारम्भदेखि साइबर आक्रमणमा असाधारण बृध्दि भई दैनिक चार करोडसम्म पुग्न थालेको हो ।

लस एन्जलस बन्दरगाहका कार्यकारी निर्देशक जीन सेरोकाका अनुसार अन्तर्राष्ट्रिय व्यापारमा अवरोध पुर्याउने उध्देश्यले ती आक्रमण भएका हुन् । बीबीसीसँगको कुराकानीमा उनले रुस र युरोपका केही भूभागबाट त्यस्ता साइबर आक्रमण भएको दाबी गरेका छन् ।

आक्रमणको उद्देश्य अमेरिकी अर्थव्यवस्थामा अवरोध खडा गर्नु जस्तो देखिए पनि जबरजस्ती चन्दा र डाटा चोरीबाट फाइदा हत्याउन चालिएको अमेरिकी अधिकारीहरुको भनाइ छ । लगातारको साइबर आक्रमणबाट जोगिन बन्दरगाहमा एफबीआइको साझेदारीमा विश्वकै पहिलो साइबर केन्द्र स्थापना गरिएको छ । यसबाट सिपिंग कम्पनी,अन्तर्राष्ट्रिय व्यापार सरोकारवालाहरूसँगको सम्भावित खतराको सूचना प्राप्त गर्न, विश्लेषण गर्न र साझेदारी गर्न अवसर मिलेको बताइएको छ ।

अन्तर्राष्ट्रिय व्यापारमा प्रयोग हुने बन्दरगाह साइबर–अपराधीहरूको लागि पछिल्लो लक्ष्य हुन थालेको छ । उनीहरुको मुख्य उद्देश्य अमेरिकी व्यापार र अर्थतन्त्रलाई धक्का पुर्याउनु हो । गत वर्ष डिसेम्बरको अन्तमा,अमेरिकी समुन्द्री सुरक्षाकर्मीसँग सम्बन्धित प्रणालीलाई ३० घण्टाभन्दा बढी समयसम्म अवरोध पुर्याइएको थियो । त्यतिबेला पनि अज्ञातस्थलबाट फिरौतीको माग गरिएको बताइन्छ ।

पछि फेब्रुअरीमा पनि युरोपका केही ठूला बन्दरगाहमा रहेका तेल टर्मिनलमा साइबर आक्रमणको बदलामा फिरौती मागिएको थियो ।

टिप्पणीहरू