सेनाको हेलिकप्टर हिमाल दर्शनमा

सेनाको हेलिकप्टर हिमाल दर्शनमा

नेपाली सेनालाई कानुनले परिभाषित गरेको काम भन्दा बेग्लै खेलोमेलो गर्न अघि सरेको आरोप लाग्न थालेको छ । ‘हिमाल दर्शन’ कार्यक्रमअन्तर्गत हेलिकप्टर चढेर बारम्बार उत्तरी सीमा क्षेत्रमा सेनाका अधिकारी झुल्किन थालेपछि यो आरोप लागेको हो ।

नेपाली सेनालाई सीमाको नियमन र अनुगमन गर्ने अधिकार छैन । तर, उसले अहिले हिमाल दर्शनको नाममा सीमा अनुगमन र नियमनको कार्य गरेको आरोप छ ।

जबकि यो जिम्मेवारी सशस्त्र प्रहरीको हो । सीमा क्षेत्र र स्तम्भको रेखदेखलगायत हेर्ने काम नापी विभागको हो । र, अन्य सीमासम्बन्धी कुरा गर्दा परराष्ट्र मन्त्रालय, सशस्त्र प्रहरी, नापी विभागलगायत तालुकदार निकायसँगै हुनुपर्ने हो ।

तर सेना एक्लै बेलाबेला सूचना संकलन गर्ने हिसाबले ‘हिमाल दर्शन’मा निक्लिने गर्छ । यो कार्यक्रममा अन्य छिमेकी देशका वा अन्य कुनै बाह्य देशका सैनिक भने सम्मिलित हुने वा गराइने चलन छैन ।

यसले गर्दा सेनामा अनावश्यक व्ययभार थपिएको गुनासो पनि शुरु भएको छ । सेना कुनै पनि देशको अन्तिम सुरक्षा कवचको रूपमा रहेको हुन्छ । उसले यही भूमिकालाई निभाउनुपर्ने हो तर डाँडाडाँडामा हेलिकप्टर फन्फन्ती घुमेपछि आशंका उठ्नु स्वाभाविक भएको बताइन्छ ।

यसैबीच, काकतालीस्वरूप आइतबार दिउँसो परराष्ट्रमन्त्री डा. नारायण खड्का, मुख्यसचिव शंकर बैरागी, रक्षासचिव किरण शर्मा र सेनाका ट्वाइसी बालकृष्ण कार्की बैठक बसेका छन् । परराष्ट्र मन्त्रालयमा ती अकस्मात् किन जुटे, खुलेको छैन ।

टिप्पणीहरू