एमालेको रणनीति:आफू केही नगर्ने,राष्ट्रपतिलाई टाँसो लाउने
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नुपर्ने बताउनु भएको छ । उहाँले आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उक्त धारणा राख्नुभएको हो ।
ज्ञवालीले विदेशी छोरी नेपाल आएर बिहे गर्नेबित्तिकै नेपाली नागरिकता पाइहाल्ने विधेयक कदापी ठीक नभएको भन्दै आज बिहे गर्ने,भोलि नेपाली नागरिकता पाउने र पर्सी सम्बन्ध विच्छेद गर्ने लहर चल्यो भने यसको जिम्मा कसले लिने ? भनी प्रश्न उठाउनुभएको हो ।
भन्नुभयो, ‘विदेशबाट विवाह गरेर नेपाल आउनेबित्तिकै उनीहरूले नागरिकता पाउलान् तर नेपाली भूमिप्रति माया हुँदैन । विदेशबाट आउनासाथ उनीहरूले नेपालको रहनसहन जानेकै हुँदैनन् त्यसैले नेपालको माया नहुने भएकाले नागरिकता शुरुमै दिन हुँदैन ।’
प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित नागरिकता विधेयकमा एमाले सांसदहरुले कुनै अवरोध पुर्याएका छैनन् । विधेयक पारित हुनुमा उनीहरुको समेत सत्तापक्षको जत्तिकै भूमिका देखिन्छ ।
अघिल्लो वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पनि अहिलेको जस्तै प्रावधान हालेर शीतल निवासबाट अध्यादेश जारी गरेको थियो । मधेशवादी दल तमलोपाका राजेन्द्र महतो र महन्थ ठाकुरहरुलाई खुशी पार्न प्रधानमन्त्री ओलीको निर्देशनमा अहिलेकै प्रावधान राखिएको हो । त्यतिबेला सरकारमा ठाकुरहरुलाई एमालेकै हैसियत दिइएको थियो ।
टिप्पणीहरू