राज्यमन्त्रीले जवाफ मागेपछि स्वास्थ्य सेवा विभागको दावी: उपकरण खरिदमा अनियमितता गरेका छैनौँ

राज्यमन्त्रीले जवाफ मागेपछि स्वास्थ्य सेवा विभागको दावी: उपकरण खरिदमा अनियमितता गरेका छैनौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधी उपकरण खरिदमा कुनै अनियमितता नभएको दावी गरेको छ । स्वास्थ्य सामग्री खरिदमा व्यापक अनियमितता भएको भन्दै समाचार प्रकाशित भएपछि स्वास्थ्य सेवा विभागले आज विज्ञप्ति निकालेर यसबारे स्पष्टीकरण दिएको हो ।

विभागले १० अर्बको नभई दुई अर्ब ४५ करोड अनुमानित लागतको खरिद प्रक्रिया शुरु गरी करिब एक अर्ब ९३ करोडको सम्झौता भएको पनि जानकारी गराएको छ । ४१ वटा छुट्टाछुट्टै फर्महरुसंग सम्झौता भएको जनाउँदै विभागले सञ्चारमाध्यममा प्रकाशित भएजस्तो एउटा फर्मसंग मात्रै खरिद कार्य नगरेको र कुनै आर्थिक हिनामिना नभएको दावी गरेको छ ।

प्रचलित खरिद ऐन, नियममा भएको व्यवस्थाअनुसार सार्वजनिक खरिद कार्यमा संलग्न पदाधिकारीको आचरण कायम राख्नेतर्फ विभाग सधैं सचेत एवं कटिबद्ध रहेको विभागको विज्ञप्तिमा जनाइएको छ । साथै, खरिदसम्बन्धी काम कामकारबाही गर्दा प्रचलित कानूनविपरीत हुनेगरी कुनै काम नगरेको, खरिद कार्य स्वच्छ, प्रतिस्पर्धा हुनेगरी निष्पक्ष ढंगले गरेको उल्लेख गरिएको छ ।

विश्वव्यापी कोभिड–१९ को महामारीको व्यवस्थापन एवं आम नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न खटिएका संस्थाको गरिमामा आँच आउने र कार्यरत कर्मचारीहरुको मनोबल गिराउने खालका समाचार प्रकाशन/प्रसारण नगरिदिन विज्ञप्तिमा आग्रह गरिएको छ । अस्ति मंगलबार राज्यमन्त्री हिराचन्द्र केसीले पत्र लेखेर विभागका आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियालाई जवाफ पेश गर्न भनेका थिए ।

१० औं तहका डा. चौरासियामाथि १० अर्बको औषधि उपकरण खरिदमा व्यापक अनियमितता गरेको, ५० लाख रुपैयाँ लेनदेनमा सरुवा गरेको, पाँच करोडभन्दा बढी घुस लिएको आरोप लागेपछि विभागले प्रेस विज्ञप्ति जारी गरेर स्पष्टीकरण दिएको हो ।

टिप्पणीहरू