आफ्नै जुँगा देख्दा यी महिला दङ्ग

आफ्नै जुँगा देख्दा यी महिला दङ्ग

केटी मान्छेले जुँगा पालेको सायदै कसैले देखेका होलान् तर,भारतकी एउटी महिलाले पुरुषले जस्तै जुँगा पालेकी छन् । केरला राज्यकी सिजाले जुँगा मुसारेको भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

३५ वर्षीया सिजाले जुँगा पालेको देख्दा सबै अचम्मित हुन्छन् । तर, उनलाई भने आफ्नो जुँगाले शान महसुस हुने गरेको बताउँछिन् । उनको ओठमाथि रौं पलाएकोे धेरै वर्ष भइसकेको छ । भन्छिन्,‘मलाई मेरो जुँगा साह्रै मनपर्छ,म त्यति मात्र भन्न सक्छु ।’

सिजालाई धेरैले जुँगा फाल्न सुझाव दिएपनि मानिनन् । परिवार र आफन्तले केही नभने पनि सडकमा हिँडडुल गर्दा धेरैले टिकाटिप्पणी गरेको उनकै कानले पनि सुनेको छ । आफ्नो आँखीभौं नियमित रुपमा मिलाउने गरे पनि ओठमाथिको रौं हटाउने सोच कहिल्यै नआएको उनको भनाइ छ ।

झण्डै पाँच वर्ष अघिदेखि ओठमाथिका रौं बिस्तारै बाक्लो र कालो हुन थालेको उनको अनुभव छ । जुँगा देखिन थालेपछि पाल्ने निर्णय गरिन् । त्यसैले अहिले उनलाई आफ्नो जुँगाप्रति गर्व लाग्ने गरेको छ । ‘म अब जुँगा बिना बस्न सक्छु जस्तो लाग्दैन’, उनले भनिन् ।

टिप्पणीहरू