चीन–पाकिस्तान इकोनोमिक करिडोरप्रति भारतले दुखायो चित्त

चीन–पाकिस्तान इकोनोमिक करिडोरप्रति भारतले दुखायो चित्त

पाकिस्तानले हालै घोषणा गरेको पाकिस्तान–चीन इकोनोमिक करिडोरको भारतले कडा आलोचना गरेको छ । उसले उक्त भूभागलाई पाकिस्तानले गैरकानुनी रूपमा कब्जा गरेको आरोपसमेत लगाएको छ ।

करिडोर क्षेत्रलाई भारतीय भूमि उल्लेख गर्दै उसले तथाकथित चीन–पाकिस्तान आर्थिक करिडोरको संज्ञा दिएको छ । साथै उक्त परियोजनामा तेस्रो देशको सहभागितालाई प्रोत्साहित गरेकोमा पनि भारतले चीन र पाकिस्तानको आलोचना गरेको छ ।

‘हामीले तथाकथित चीन–पाकिस्तान आर्थिक करिडोर परियोजनामा तेस्रो देशको प्रस्तावित सहभागितालाई प्रोत्साहित गर्ने सूचना पाएका छौं । यस्ता कार्यले भारतको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई प्रत्यक्ष रूपमा उल्लंघन गर्छ,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बताए ।

गत शुक्रबार पाकिस्तानका विदेश सचिव सोहेल महमुद र चीनका सहायक विदेशमन्त्री वु जियाङहाओको सहअध्यक्षतामा सम्पन्न भर्चुअल चीन–पाकिस्तान आर्थिक करिडोर संयुक्त कार्य समूहको तेस्रो बैठकमा दुवै पक्षले समीक्षा गरेका थिए । उनीहरुले आर्थिक करिडोरको निरन्तर कार्यान्वयन र संयुक्तरूपमा सहमति जनाइएका र प्राथमिकता दिइएका क्षेत्रमा यसको विस्तार गरिने उल्लेख गरेका थिए ।

बैठकमा दुबै मुलुकले अरबौं डलरको चीन–पाकिस्तान आर्थिक करिडोरमा सामेल हुन इच्छुक तेस्रो देशलाई स्वागत गर्ने निर्णय गरेका थिए । त्यही निर्णयप्रति कडा आपत्ति जनाउँदै भारतीय परराष्ट्र मन्त्रालय प्रवक्ताले भने,‘भारत पाकिस्तानले अवैध रूपमा कब्जा गरेको भारतीय भूमिमा रहेको तथाकथित चीन–पाकिस्तान आर्थिक करिडोरमा सञ्चालित परियोजनाको दृढताका साथ निरन्तर विरोध गर्दछ ।’

२० अप्रिल २०१५ देखि औपचारिक रूपमा शुरु भएको चीन–पाकिस्तान आर्थिक करिडोरले अरब सागरमा रहेको पाकिस्तानको ग्वादर बन्दरगाहलाई उत्तरपश्चिम चीनको सिन्च्याङ प्रान्तको कासगरसँग जोड्ने लक्ष्य राखेको छ ।

टिप्पणीहरू