किन माफी दिने तिमीलाई ?

किन माफी दिने तिमीलाई ?

–मणिकुमार श्रेष्ठ ‘सिजन’
साल्पासिलिछो, भोजपुर ।

अज्ञात त्यो नाममा तिमीले
युगलाई धमिलो बनायौ
जसरी धमिराले
काठलाई धुमिल बनाउँछ
ठीक त्यसैगरी तिमीले
यो समाजलाई
धुमिल बनायौ
हत्याको नाममा
हिंसाको नाममा
आतंकको नाममा
अपहरणको नाममा
फिरौतीको नाममा ।

तिमीले जनताको नाममा
चलाएको क्रान्तिमा
बास दिने आमा
बाबा, दिदी, बहिनी, दाइ सबैको
बर्खिलाप गरी
तिमीले आफुलाई
अब्बल बनाउँदै
आफ्नो योगदान मात्रको कुरा गर्दै
ती बा आमाको योगदानलाई
तिलाञ्जली दियौ
समानताको नाममा
समावेशीताको नाममा
विभेद गर्यौ तिमीले

तिमीले कहिल्यै सोधेनौ
तिम्रा आदेशमा अपहरणमा परि
ज्यान गुमाएका बाका
सन्तानहरुलाई
अनि कहिल्यै सोधेनौ
अपहरणमा परि ज्यान बचाएका
बालाई
किन हत्या गरे
अनि किन हत्या गरिन् भनेर
आज यसको जवाफ तिमीले
दिनैपर्छ
यदि तिम्रो क्रान्ति जनताको
हितमा थियो भने ।

हत्याको बलमा राज्यको
माथिल्लो निकायमा तिमी पुग्दा
तिमीलाई यााद हुनपर्छ
एक छाक खाना काटेर
तिम्रा लालसेना पालेको
अनि तिनै लालसेना
आजको खाडीको तातो घाममा
पसिनाका धारा बगाउँदै
परिवार पाल्न विवश छन्
तिमी तिनलाई आज
गद्दारको संज्ञा दिई
पार्टीको सदस्यता
खारेज गरी
आफुलाई अब्बल क्रान्तिकारी
बनाउन तल्लिन छौ ।

तिमीले सिकाएको क्रान्तिले
कुन ठाउँको विकासको मूल फुट्यो ?
तिमी भन्छौ
संघीयता मैले ल्याएको
गणतन्त्र मैले ल्याएको
राष्ट्रियता मैले बचाएको
स्वतन्त्रता मैले दिलाएको
तिमीले दिएको स्वतन्त्रताले केहीलाई
महाजन बनायो यहाँ
नयाँ मूल फुट्यो भ्रष्टाचारको
तिमी त्यसैमा रमाएर
सामन्तको हात समाई
बसेका छौ
अब तिमीलाई जनताको अधिकारभन्दा
आफ्नो जीवन प्यारो लाग्न थालेको छ ।
त्यसैले त !
किन माफी दिने तिमीलाई ?

हो साँच्चै किन
माफी दिने तिमीलाई ?
तिम्रो कवच भएर
लडेका लालयोद्धाहरु
विदेशीको गुलामी भएर
बाँच्न विवश छन्
तिमी आफ्नो चम्चेको वरिपरी
आफुलाई सिमित राखी
पारिवारिक जञ्जालभन्दा माथि उठ्न
सकेका छ्रैनौ ।
तिमी आफु र आफ्नो परिवारको
चंगुलमा देशलाई बाँधी
पारिवारिक सफलताको माध्यमबाट
आफुलाई कुलिन बनाउँदै
क्रान्तिको नायक घोषित गर्दैछौ
त्यसैले त
किन माफी दिने तिमीलाई ?

तिमिले छिमेकीलाई
दुश्मन बनाई
छिमेकीको अपहरण गर्न लगाएको
आजै जस्तो लाग्छ
अझै पनि त्यो अपहरण केका
लागि गरिएको थियो
हत्या केका लागि
थियो छिमेकीको प्रश्नको
उत्तर दिन सकिरहेको छैन
आफ्ना बालाई अपहरण गर्दा पनि
तिम्रै लागि लडेका योद्धाहरु
तिमीलाई भगवान ठानी
पूजा गर्दा हिजो
लाग्थ्यो तिमी महान थियौ
तर आज तिम्रा आवाजहरु
फेरिएका छन्
तिम्रो शैली फेरिएको छ
शैलीसँगै तिम्रा सम्बन्धहरु फेरिएको छ
तिमी भ्रष्टाचारको जालोमा छौ
तिम्रा आवाजले केही परिवर्तन ल्याउँदैन यहाँ
त्यसैले त
किन माफी दिने तिमीलाई ?

टिप्पणीहरू