संसदभित्र मास्क लगाउन सभामुखको रुलिङ

संसदभित्र मास्क लगाउन सभामुखको रुलिङ

पछिल्लो समय मुलुकमा कोरोना संक्रमणदर ह्वातै बढेको छ । तर, त्यसको पूर्व तयारीमा सरकार चुकेको आरोप लागेको छ । सरकारले कोरोनाको जोखिम बढेको बताए पनि स्वास्थ्य मापदण्डमा उच्चपदस्थ व्यक्तिहरुबाटै हेलचेक्रयाईं भइरहेको देखिन्छ ।

स्वास्थ्य मापदण्डअनुसार सार्वजनिकस्थलमा मास्क अनिवार्य लगाउनु पर्ने, दूरी कायम गर्नुपर्नेलगायत विविध व्यवस्था गरिएको छ । तर, पहिलेको तुलनामा बीचमा संक्रमण मत्थर भएपछि नागरिकले मास्क लगाउनसमेत छाडे । उनीहरुको लपरबाहीका कारण कोरोना महामारीको दोस्रो र तेस्रो लहर जस्तै फेरि नयाँ लहर फैलिन सक्ने चिकित्सकहरुले आशंका गरेका छन् ।

विगतदेखि नै स्वास्थ्य मापदण्डबारे जानकार व्यक्तिहरुबाटै त्यसको उल्लंघन भएको उदाहरण प्रशस्तै छ । त्यही प्रवृत्ति आज प्रतिनिधिसभा बैठकमा देखिएपछि सभामुख अग्नि सापकोटाले सांसदहरुलाई अनिवार्य मास्क लगाउन आग्रह गर्नुभएको हो । तर, त्यतिञ्जेल उहाँ आफैँले पनि मास्क लगाउनुभएको थिएन ।

बैठकमा सभामुख सापकोटाले भन्नुभयो, ‘कोभिड १९ को संक्रमण दर बढ्दै गइरहेको माननीय सदस्यहरुलाई बिदितै छ । तसर्थ संसदका बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नुहुन म आग्रह गर्छु ।’

टिप्पणीहरू