कोशी अस्पतालको सेवा खुम्चियो, कर्मचारी अभावमा एचडियु सेवा बन्द

कोशी अस्पतालको सेवा खुम्चियो, कर्मचारी अभावमा एचडियु सेवा बन्द

प्रदेश नम्बर १ को सबैभन्दा ठूलो कोशी अस्पतालमा एचडियु सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत करार कर्मचारीका म्याद नथपिएपछि चार दिनदेखि सेवा नै बन्द भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत असार ३१ गतेको सचिवस्तरीय बैठकले छ सय ४९ स्थानीय तहका कोभिड १९ सम्बन्धी अस्थायी अस्पतालमा कार्यरत जनशक्तिलाई साउन १ गतेदेखि पारिश्रमिक उपलब्ध नगराउने निर्णय गरेपछि उक्त समस्या उत्पन्न भएको हो ।

सोहीअनुसार कर्मचारी कटौती गरिएको अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले बताए । करारमा रहेका कर्मचारीको म्याद थप नभएपछि जनशक्ति अभावका कारण एचडियु वार्ड बन्द गर्नुपरेको उनको भनाइ छ । १९ जना मेडिकल अधिकृत र १२ जना स्टाफ नर्स गरी ३१ जना स्वास्थ्यकर्मी हटाइएपछि महत्वपूर्ण सेवा नै प्रभावित भएको हो ।

अहिले १२ शैया राखिएको एचडियु वार्ड बन्द भएको छ । उक्त वार्डमा आर्थिक अवस्था कमजोर भएका बिरामीको उपचार हुदैं आएको थियो । वार्ड नै बन्द भएपछि विपन्न परिवारका बिरामीहरु थप मारमा परेका छन् ।

स्वास्थ्य मन्त्रालयले कोभिड १९ उपचार तथा व्यवस्थापनका लागि २०७७ भदौ २३ गते अस्थायी अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । सोही आधारमा करारमा कर्मचारी भर्ना गरिएको हो ।

टिप्पणीहरू