अध्यक्ष र उपाध्यक्षको नाममा स्वास्थ्य कार्यक्रम

अध्यक्ष र उपाध्यक्षको नाममा स्वास्थ्य कार्यक्रम

रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाले आफ्ना अध्यक्ष र उपाध्यक्षको नाममा स्वास्थ्य कार्यक्रम घोषणा गरेको छ । गाउँपालिकाले सहिदस्मृति स्वास्थ्य कार्यक्रमअन्तर्गत अध्यक्ष तथा उपाध्यक्ष स्वास्थ्य कार्यक्रम हिजैदेखि शुरु गरेको हो ।
यसअन्तर्गत घरैमा स्वास्थ्यकर्मी कार्यक्रम, निशुल्क स्वास्थ्य बीमा र टेलिमेडिसिन सेवा तथा एक क्लष्टर एक डाक्टर कार्यक्रम रहेको उपाध्यक्ष भुपेन्द्रा बुढाले जानकारी दिनुभयो । घरैमा स्वास्थ्यकर्मी कार्यक्रमलाई घुम्ती स्वास्थ्यकर्मी सेवामार्फत् कार्यान्वयन गरिने गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी गाउँपालिका उपाध्यक्ष स्वास्थ्य कार्यक्रमअन्तर्गत चार वटा कार्यक्रम मुख्य रुपमा थालनी गरिएको हो । यसमा गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम, निशुल्क एम्बुलेन्स सेवा, चेलीसँग उपाध्यक्ष कार्यक्रम र गर्भवती महिला तथा स्वास्थ्य संस्थामा जन्मेका छोरीहरुलाई निशुल्क बीमा कार्यक्रम छन् । स्वास्थ्य कार्यक्रमको निम्ति आवश्यक बजेटसमेत विनियोजन गरिएको बताइएको छ ।

उक्त कार्यक्रमको निम्ति गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि,कर्मचारी तथा सरोकारवालालाई अभिमुखीकरण तालिमसमेत दिइएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष पुनिराज घर्तिले स्थानीयलाई स्वास्थ्य सेवा सहज,पहुँचयोग्य र प्रभावकारी बनाउन यस्तो कार्यक्रम तय गरिएको बताउनुभयो । भौगोलिक विकटताको कारण समयमै प्रभावकारी उपचार पाउन नसकेका यहाँका जनतालाई यस कार्यक्रमले लाभ दिने विश्वास उहाँले व्यक्त गर्नुभयो । उहाँले थोरै जनशक्ति र भौगोलिक विकटताको बीचमा पनि उत्कृष्ट काम गर्न गाउँपालिकाले जनमैत्री कार्यक्रम ल्याएकाले सबै मिलेर सफल पार्न आग्रह गर्नुभएको छ ।

टिप्पणीहरू