इन्द्रजात्रा हेर्न विदेशका मेयरहरु काठमाडौँ आउने

इन्द्रजात्रा हेर्न विदेशका मेयरहरु काठमाडौँ आउने

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आगामी इन्द्रजात्राको अवसरमा विदेशका विभिन्न शहरका मेयर र पाहुनाहरू काठमाडौं आउने बताउनुभएको छ । उपत्यकामा मनाइने जात्रा र यहाँका कला संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्नेमा विशेष चासो दिँदै आउनुभएका उहाँले आज पर्यटनमन्त्री जीवनराम श्रेष्ठसँगको भेटमा यस्तो बताउनुभएको हो ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मेयर शाहले इन्द्रजात्रालाई पर्यटन क्षेत्रको विकाससँग जोडेर अघि बढाउन विश्वका विभिन्न मुलुकका मेयरसहित पाहुनाहरुलाई सहभागी गराउने योजना बनाइएको जानकारी मन्त्रीलाई गराउनुभएको हो ।

भेटका क्रममा कोभिड–१९ महामारीबाट अति प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने मन्त्रालयको कार्ययोजनामा महानगरपालिकासँग सहकार्य गरिनेबारे कुराकानी भएको बताइएको छ ।

काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्राको शुरुवात गर्ने योजना रहेको बताउँदै मन्त्री श्रेष्ठले स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । साथै उहाँले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ मन्दिर र हनुमानढोका दरबार क्षेत्रलाई सम्पदा पदयात्रामा जोड्ने योजनामा पनि महानगरपालिकाको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।

साथै सो अवसरमा पर्यटकीय यातायातलाई सहज बनाउन नीजि क्षेत्रसँगको सहकार्यमा सिटी बस सञ्चालनमा ल्याउने योजनाबारे पनि मन्त्री श्रेष्ठले मेयर शाहलाई जानकारी गराउनुभएको थियो । महानगरपालिकाले खुलापार्क निर्माण तथा सम्पदा संरक्षण र सम्बद्र्धन गरी ऐतिहासिक सहरको पहिचानलाई थप बलियो बताउनेतर्फ अग्रसर हुनुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । स्थानीय साँस्कृतिक सम्पदाहरुको प्रवद्र्धनले आन्तरिक एवं वाह्य पर्यटन प्रवद्र्धन हुनुका साथै जनताको आर्थिक विकासमा टेवा पुग्ने मन्त्री श्रेष्ठले बताउनुभयो ।

उहाँहरुबीच काठमाडौं महानगरपालिकाले अघि बढाएको सम्पदा निर्माण–पुनर्निर्माणको अवस्थाबारे पनि छलफल भएको थियो ।

टिप्पणीहरू