कोरोनाविरुद्धको खोप लगाउनेमा नवलपरासी पहिलो

कोरोनाविरुद्धको खोप लगाउनेमा नवलपरासी पहिलो


नवलपरासी कोरोनाविरुद्धको पूर्ण खोप लगाउनेमा पहिलो जिल्ला बनेको छ । जिल्ला खोप समन्वय समितिको आज बसेको बैठकले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) लाई नेपालकै पहिलो कोरोनाविरुद्धको पूर्ण खोप लगाउने जिल्ला घोषणा गरेको हो ।

१२ वर्षमाथिका लक्षित सबै नागरिकले कोरोनाविरूद्धको खोप लगाएकाले कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार नवलपरासीका ९९ प्रतिशत लक्षित जनसंख्याले कोभिड १९ विरुद्धको पहिलो मात्रा र ९७ प्रतिशतले दोस्रो मात्राको खोप लगाइसकेका छन् ।

हिजो लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयबाट भएको अनुगमन, निरीक्षण टोलीले नै प्रमाणित गरेपछि कोभिड १९ विरूद्धको पूर्ण खोप लगाउने पहिलो जिल्ला हुन सफल भएको प्रजिअ पोखरेलको भनाइ छ ।

‘हिजो मात्र प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुगमन टोली आएको थियो । सोही टोलीले नेपालको पहिलो कोभिड १९ विरूद्धको पूर्ण खोप लगाउने जिल्ला भनेर प्रमाणति गरेको हो । उहाँले भन्नुभयो, ‘त्योसँगै आज हामीले एक कार्यक्रममार्फत् नवलपरासीलाई पहिलो जिल्ला घोषणा गरेका हौँ ।’

टिप्पणीहरू