‘काम गर्न देऊ, बालेनलाई डिस्टर्ब नगर’

‘काम गर्न देऊ, बालेनलाई डिस्टर्ब नगर’

म गाली खानकै लागि यी शब्दहरू लेखिरहेको छु । गाली गर्ने लाममा को–को उभिने रहेछन्, त्यो हेरेर आनन्द लिनु छ मलाई । चुनावी अभियानको क्रममा हो क्यार, नेपालकै पुरानो महानगरपालिकामा मेयरको उम्मेदवारी घोषणा गर्दै एक जना ¥यापरले काठमाडौंलाई विश्वकै सुन्दर शहर बनाउँछु भनेका थिए ।

भन्यो भने भन्या जस्तो होला । अरुले नपत्याए पनि मैलेचाहिँ यो कुरा पत्याएको थिएँ । मानिस जुन पृष्ठभूमिबाट आयो उसले त्यही गर्ने हो । मोही माग्नु ढुंग्रो किन लुकाइरहनु ! मैले बालेन्द्र साह उर्फ बालेनकै कुरा गर्न लागेको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ¥यापार यमबुद्धको शालिक बनाउने घोषणा गरे महानगरपालिकाको बजेटबाट । त्यसको निकै आलोचना भयो । अनि उनले त्यसको जवाफ दिए– म मेरो तलबबाट शालिक बनाउँछु ।

‘ठीक छ, त्यसोभए बनाऊ’

‘आफ्नो तलबबाट बनाउने भएपछि आफ्नै घरमा त बनाउने होला नि !’

सामाजिक सञ्जालमा यस्तै यस्तै प्रतिक्रिया आइरहेका थिए । प्रतिक्रिया लेख्नेहरूलाई के थाहा ? बालेन साह ७२ विगाह जमिनका मालिक हुन् । मासिक तीन लाख तलब भएको जागिर खान्थे । काठमाडौंमा आफ्नै घर छ । निजी कार छ । नपुग्दो के छ ? अब त उनी फगत काठमाडौंबासीको सेवाको लागि आएका हुन् । विचरा जुन पृष्ठभूमिबाट आए त्यही पृष्ठभूमिको व्यक्तिको लागि काम शुरु गर्न आँटेका छन्् के को आलोचना होला ! म छक्क पर्छु । जिउँदोका लागि गर्ने त अरु सबै छन् नि !

यमबुद्धको शालिक बनाउने निर्णयले बालेनका समर्थकहरू निकै खुशी नै छन् । उनीहरू धेरै जसो अत्याधिक खुशीकै कारण हर्टअट्याक भएर मर्न सक्छन् । यो संख्या ठूलो हुन सक्छ । विदेशमा आत्महत्या गरेका यमबुद्धको त शालिक बनाउने बालेनले यहाँ उनको निर्र्णयको खुशीयाली बनाउँदा पक्कै पनि शालिक बनाइहाल्छन् । यमबुद्धको १५ लाखको शालिक बनाउनेले त्यो भन्दा ठूलो बनाउनेछन् पक्कै ।

अनि जसले बालेनले काठमाडौं महानगरका लागि केही गर्छ भनेर भोट हाली पठाए, शालिकबाट पो काम शुरु गर्ने भयो भनेर निकै पीर गर्नेहरू बालेनको एक दुई वर्षको कामले चरम निराशामा गएर, आत्महत्या गर्छन् । फेरि बालेनले काम गर्छन्, उनीहरूको पनि शालिक निर्माण हुन्छ, ढुक्क हुनुहोस् । बालेनको पाँचवर्षे कार्यकालमा काठमाडौं शालिकै शालिकको शहर हुन्छ । शान्त शालिकै शालिकको शहर विश्वकै सुन्दर शहर भयो कि भएन त ?

आलोचना गर्नेहरूको काम आलोचना गर्ने नै हो भन्ने बालेनले पनि बुझेका छन् । त्यही भएर उनले बडो मेहनत र जाँगर चलाएर पाँच शब्दको फेसबुक स्टाटस लेखे ‘काम गर्न देऊ, डिस्टर्ब नगर ।’ सामाजिक सञ्जालमा सिर्जनशीलता र जाँगर नभएकाहरू नै सक्रिय हुने हुन् । उनीहरूले बालेनले लेखेको केही सेकेण्डमै स्टाटस भटाभट कपी गरेर, आफ्नो फेसबुकभरि पेष्ट गर्न भ्याइहाले । बालेनलाई स्टाटससँग के को सरोकार ? स्टाटस लेखे– केही समय राखे अनि मेटेर फटाफट काममा लागिहाले ।

यता सामाजिक सञ्जालमा सक्रिय समूह बालेनलाई काम गर्नमा बाधा पु¥याउने को रहेछन् भनेर खोज्न थाले । केही क्लू भेटिन्छ कि भनेर फेरि बालेनकै फेसबुक वालमा फर्किए । त्यहाँ त बालेनको स्टाटस नै गायब । अब परेन फसाद ? अब बालेनलाई डिष्टर्ब गर्ने को को रहेछन् भन्नेको अनुसन्धानको सुइ अर्कैतिर फर्कियो । आखिर बालेनको स्टाटस कसले मेटायो, किन मेटायो ? मेटाउनुको कारण के रहेछ ? भन्ने अनुसन्धानमा जुटेको छ सामाजिक सञ्जाल प्रयोगकर्ताको ठूलो संख्या । सायद यो विषय टुंगो नलाग्दै बालेनले अर्को घोषणा गरिदिन्छन् अनि सामाजिक सञ्जाल प्रयोगकर्ता र बालेनका समर्थकहरूलाई अर्को काम मिलिहाल्छ ।

बालेनले महानगरको बजेटमा इ–स्पोर्टसका लागि भनेर एक करोड बिनियोजन गरेका छन् । यसको विषयमा पनि चर्को आलोचना भएपछि विश्व बजारमा इ स्पोर्टसले ठूलो हिस्सा ओगटेको उदाहरणसहित जवाफ दिँदै इस्पोटर््स खर्बौंको बिजनेस हो भनेका छन् । यसबाट विश्वका अन्य देशले राम्रो आम्दानी गरिरहेको बताएका छन् ।

अब नेपालले पनि त्यसबाट राम्रो आम्दानी गर्नु पर्ने उनको आशय देखिन्छ । यसरी एकपछि अर्को चामत्कारिक काम गर्ने बालेनका योजना छन् । बालेन काममा कत्ति व्यस्त छन् भने महानगरले बजेट ल्याएको तीन हप्ता भइसक्दा पनि त्यसको पूर्णपाठ सार्वजनिक गर्न भ्याएका छैनन् । पत्रकारहरूले शालिक र इस्पोटर््सको कुरामा त यत्ति खेदेका छन् । बजेटको पूर्ण पाठ आउँदा अझै के के आउने हो भन्ने डर हुँदो हो । पारदर्शीताको वकालत गरेर कार्यपालिकाको बैठक त प्रत्यक्ष प्रसारण गरिरहेका बालेनलाई बजेट सार्वजनिक गर्नचाहिँ कसले रोक्यो होला कुन्नि ?

बालेनको चुनावी प्रतिबद्धताको २८ बुँदे घोषणापत्रमा फुटपाथ व्यापारीलाई समय निर्धारण गरेर व्यापार गर्न दिने उल्लेख छ । त्यसको कार्यान्वयन पनि गरिसकेको ज्वलन्त उदाहरण चेतेन्द्र दम्पती भएका छन् । फुटपाथ व्यापारीमाथिको लछारपछार काठमाडौं महानपालिकाका नगरप्रहरीको विशेषता हो । त्यो घटनापछि नगरप्रहरी प्रमुख बहुत उत्साहित भएका छन् । अनि सगर्व घोषणा गरेका छन्– यस्ता घटना सामान्य हुन् । पैदलयात्रीलाई असहज हुने काम गर्न दिइने छैन ।

फुटपाथ व्यापारीमाथिको लछारपछार र यमबुद्धको शालिक प्रकरण बालेनको कामको गति र संकेत हो । जेठ १३ गते औपचारिक रूपमा मेयर निर्वाचित भएका साहले जेठ १६ गते सोमबार पदभार ग्रहण गरे । आफ्नो सबै समय महानगरलाई दिने भन्दै काठमाडौंलाई विश्वको उत्कृष्ट शहर बनाउने समेतको प्रतिबद्धता जनाए ।

महानगरको नेतृत्वमा आएको दुई महिना पुग्नै लाग्दा कम्तिमा दुई वटा चर्चित काम गरे । यमबुद्धको शालिक निर्माण घोषण र ईस्पोट्सलाई एक करोड छुट्याउने । मेरो एक मित्र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्छु भनेर लागिरहेका थिए । मैले त्यो बेलासोधेको थिएँ– विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएपछि के गर्छौ ? उनले इमान्दारीपूर्वक जवाफ दिए, ‘श्रीमतीलाई यही स्कूलमा जागिर खुवाउँछु ।’ ती मित्र इमानमा पक्का निस्किए । साँच्चै पहिलो काम फत्ते गरे ।

पक्कै बालेन पनि मेरा मित्र जस्तै इमान्दार निस्किए, आफूलाई चुनावमा जिताउन सामाजिक सञ्जालमा बहुत धेरै मिहिनेत गरेका मित्रलाई गुन तिर्नका लागि ईस्पोर्टसका नाममा एक करोड रुपैयाँ बिनियोजन गरेका छन् । यसमा मेरो कुनै गुनासो छैन, गुन गर्नेलाई गुन गर्नुपर्छ । बालेन गुनी निस्किए, अरु नेताले जस्तो खोलो त¥यो, लौरो बिर्सियो गरेनन् । यसले बालेनले काठमाडौंलाई उत्कृष्ट शहर बनाउनेमा अब कोही कसैको शंका रह्यो र ?

टिप्पणीहरू