जोमसोम नजिकै चौंरीको रगत निकाल्ने मेला, आलो रगत प्रति गिलास दुई सय

जोमसोम नजिकै चौंरीको रगत निकाल्ने मेला, आलो रगत प्रति गिलास दुई सय

-अमृत बास्कुने

हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम रहेको घरपझोङ गाउँपालिका–५, नमखुलेकमा याक तथा चौरीको आलो रगत निकाल्ने कार्यक्रममा आन्तरीक तथा वाह्य पर्यटकहरु पुग्ने गरेका छन् ।

सदरमुकाम जोमसोमदेखि ठिनी हुँदै करिब ५ किलोमिटर कच्ची सडकको यात्रा र ४५ मिनेटको पैदलयात्रापछि मनमोहक नमखुलेकमा पुगिने भएको हुनाले आन्तरिक पर्यटकहरु बढेको व्यवसायीहरु बताउँछन् ।

चौरी मेलामा ज्यूँदो चौरीलाई नियन्त्रणमा लिएर तालिमप्राप्त आम्जीले घाँटीमा नसा पत्ता लगाइ चापोले नसा काटेर रगत निकाल्ने गरिन्छ । तालिम नभएका र अनुभव नभएका व्यक्तीले रगत निकाल्दा याक चौंरीको मृत्युसम्म हुने भएकाले तालिमप्राप्त अनुभवी आम्जीले मात्र रगत निकाल्ने थासाङ गाउँपालिका नाउरीकोटका इन्द्रसिंह शेरचनले बताउनुभयो । रगत निकालेपछि माटो वा गोबरले रगत निस्कने भाग टालेर चौंरीलाई छाडिन्छ ।मुस्ताङ जिल्लाका चौरी तथा याक पालन हुने खर्क क्षेत्रमा प्रत्येक वर्ष वैशाख र साउन गरेर दुई पटक रगत निकाल्ने र खाने मेला सञ्चालन हुँदै आएको छ । घरपझोङ गाउँपालिकाको नमखलेक र थासाङ गाउँपालिकाको मार्चे लेकमा पनि अहिले चौरीको रगत खाने मेला सञ्चालन भएको छ ।

निलगिरी हिमालको फेदीमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिएको सुन्दर नमखुलेकमा याकचौँरीको आलो रगत खाने मेलामा पुगेका कसैले पनि मन खिन्न पार्ने अवस्था देखिँदैन । म्याग्दीको रघुगंगा गाउँपालिकाका अमृत सुवेदीले उक्त लेकमा पुग्दा याक चौंरीको आलो रगत निकालेको दृष्यसँगै हिमालको काखमा पुग्दा स्वर्ग पुगे जस्तै अनुभव भएको सुनाउनु भयो । नमखुलेकमा पाँच जनाले पालेका झण्डै तीन सय हाराहारी याकचौंरी रहेको स्थानीय वासिन्दा पुरन गौचनले बताउनुभयो ।

लेकमा पाइने यार्सागुम्बा, पाँच औले, निरमसी, जटामसी, कुटुकी, वन लसुन, जिम्बुलगायतका जटिबुटी खाने भएकाले याकचौंरीको आलो रगत स्वास्थ्यका लागि फाइदाजनक हुने नाउरीकोटका इन्द्रसिंह शेरचनले बताउनुभयो । याकचौंरीको आलो रगत खानाले ग्यास्ट्रिक, गानोगोला, कमजोरीपना, सुगर, प्रेसरलगायत रोगहरू निको हुने विश्वासमा धेरै जना आउने गरेको शेरचनको भनाइ छ ।साउन ४ गतेदेखि शुरु मेला भोलिसम्म रहन्छ । मेलामा बिहान र बेलुकी दैनिक एक सयभन्दा धेरै पर्यटक जोमसोमबाटै पुग्ने गरेका छन् । झण्डै एक सय हाराहारी त्यही लेकमै बसेर रगत खाने गरेका स्थानीयको भनाइ छ ।

याकचौंरी पाल्ने कृषकहरुका लागि आलो रगत निकालेर बेच्ने कार्य वैकल्पिक आम्दानीको स्रोत पनि हो । एउटा वयस्क याक तथा चौंरीबाट अघिकतम ३५ गिलाससम्म रगत निकालेर प्रतिगिलास दुई सयमा बेच्ने गरिएको चौरीपालक कृषकको भनाइ छ ।याकचौँरीको मूल्य एक लाखदेखि एक लाख ३० हजारसम्म पर्ने र चिसो भूगोलमा हुर्काइएकाले तिनका मासु स्वादिलो र पोसिलो हुने हुनाले मासुको उच्च माग हुने गर्दछ । चौंरीबाट उत्पादित दुधबाट दही, घ्यु, चिज र छुर्पीलगायत परिकारहरू बनाएर बिक्री गर्ने गरिन्छ । चौंरीको सिङलाई खच्चडको घाँटीमा झुण्डाइने घण्टीमा प्रयोग गरिन्छ भने पुच्छर धार्मिक पूजाआजामा चमरको रुपमा प्रयोग गरिन्छ ।

चौंरीको मल खेतबारीमा प्रयोग हुन्छ । मासुको पनि माग बढेको छ । दुध, दही, छुर्पिको माग धेरै छ भने ज्यूँदैमा समातेर झण्डै ३५ गिलाससम्म रगत निकालेर प्रतिगिलास दुई सयका दरले बिक्री गर्ने गरिन्छ । कृषकले पालेको चौंरीका सबैथोक बजारमा बिक्री हुने भएकाले यसलाई व्यवस्थित पालन गर्न सकेको खण्डमा अर्थोपार्जनको दृष्टिकोणले निकै राम्रो रहेको बताइन्छ ।

टिप्पणीहरू