यसकारण अस्पतालमा सुटुक्क जलाइयो औषधि « Jana Aastha News Online
Logo
९ आश्विन २०७९, आईतवार
|  Sun Sep 25 2022
Logo
९ आश्विन २०७९, आईतवार
|  Sun Sep 25 2022

यसकारण अस्पतालमा सुटुक्क जलाइयो औषधि

प्रकाशित मिति :  ९ श्रावण २०७९, सोमबार ०९:००


फबिन्द्र आचार्य ‘क्षितिज’ रोल्पाका स्थानीय माओवादी युवा नेता हुन् । रोल्पा नगरपालिका समितिका माओवादी अध्यक्ष पनि रहेका उनी समूह फेर्न नामुद भनेर चिनिएका छन् । प्राप्त कुनै पनि अवसर छोप्नमा माहिर मानिन्छन् ।

पूर्व लडाकूसमेत रहेका क्षितिज पार्टी फुटको बेला मोहन वैद्यको कित्तामा थिए । उनी बादलसँगै हाल लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको फेरो समाउँदै प्रचण्ड कित्तामा आएका हुन् । तर आवश्यकताअनुसार कृष्णबहादुर महरा र वर्षमान पुनको कित्तामा खेलिरहन्छन् ।

दोस्रो कार्यकाल अस्पताल विकास समिति रोल्पाको अध्यक्ष बनेका उनै क्षितिज कमिसनको खेलमा चुर्लुम्म डुब्दा रोल्पा अस्पतालको व्यवस्थापन गञ्जागोल बनेको छ । आवश्यकता पहिचान नगरेर कमिसनको लोभमा आवश्यक औषधि खरिद गरेकाले केही दिन अगाडि लाखौँ मूल्यका औषधि म्याद सकिएको भन्दै सुटुक्क जलाइएको छ ।

हरेक वर्ष सुटुक्क र थोरै मात्रामा जल्ने औषधि यो वर्ष ठूलो परिमाणमा जलेको एक स्वास्थ्यकर्मीले बताएका छन् । ‘कमिसन आउने औषधि खरिद गरेका कारण खपत भएन अनि म्याद सकिएका कारण जलाएर नष्ट गरियो,’ उनले भने ।

अस्पताल सुदृढीकरणको नाममा आउने ठूला बजेट अपारदर्शी रुपमा खरिद गर्नु, स्वास्थ्य बीमा गरेकाहरूले सेवा नै नपाउने गरी अस्पतालको फार्मेसीमा अत्यावश्यक औषधि नराख्नु नियति बनेको छ ।

अस्पतालको अस्तव्यस्ततालाई नजिकबाट बुझेका माओवादी नेतृत्वले पनि क्षितिज सदरमुकामको स्थानीय भएका कारण कडा रुपमा दबाब दिन सक्दैनन् । स्थानीय एक स्वास्थ्यकर्मी भन्छन्, ‘उनी विकास समितिको अध्यक्ष रहँदासम्म अस्पतालको कहिल्यै सुधार हुनै सक्दैन ।’

क्षितिजले पदको दुरुपयोग गर्दै अस्पतालका डाक्टरसँगको मिलेमतोमा आफ्ना बुवा द्वन्द्वकालीन गम्भिर घाइते भएको कागजात तयार गरी उच्च श्रेणीको जीवन निर्वाह भत्ता समेत कुम्लाई रहेका छन् । अरुका सहारामा बाच्नुपर्नेलाई राज्यले दिने उक्त सेवा सबै कामकाज र दैनिकी बिताउन सक्ने बुबा ईन्द्रकुमार आचार्यका नाममा उच्च श्रेणीको जीवन निर्वाह भत्ता लामो समयदेखि आइरहेको बताइन्छ ।

केही दिनअघि माओवादी कार्यकर्ताले बिदामा घर आएका प्रहरीलाई कुटपिट गरेको घटनालाई पनि क्षितिजको पहलमा आर्थिक लेनदेन गर्दै मिलापत्र गर्न बाध्य बनाइएको गाईंगुईं चलेको छ । त्यसो त जिल्ला समन्वय समितिको घरबहाल सस्तोमा लिएर अरुलाई महङ्गोमा भाडा दिएको पनि सबैले देखिरेहका छन् । तर उनको बिरोध गर्ने हिम्मत कसैले गरेका छैनन् ।

पशु र कृषि अनुदानमा समेत हिस्सा लिँदै आएका क्षितिज आफुलाई सामाजिक अभियन्ता बताउन भने छाड्दैनन् । यिनै क्षितिजले केहि दिन अगाडि समाचारका विषयमा पत्रकारलाई सामाजिक सञ्जालमा गाली बेइज्जती गरेपछि पत्रकार महासंघले विरोध जनाउँदै विज्ञप्ति नै जारी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !