गुप्तचरमा फेरि गज्याङगुजुङ

गुप्तचरमा फेरि गज्याङगुजुङ

प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै मातहत राखिएका राजश्व अनुसन्धान, सम्पत्ति शुद्धिकरण र राष्ट्रिय अनुसन्धानजस्ता महत्वपूर्ण विभागमा देखिएका बेथितिप्रति आँखा चिम्लेर बसेको गुनासो छ । मितव्ययिता अपनाउने नाममा साउन १ गतेदेखि कर्मचारीको दरबन्दी १० प्रतिशत घटाउने भनिए पनि गुप्तचरतर्फ एक जना एआइजीको दरबन्दी थप गर्न लागिएको छ ।

पोखरामा कार्यरत डिआइजी कुलदेव थापा हिजो चार दिने एआइजीको कार्यकाल छाडेर बिदा भएपछि यस्तो अवस्था देखिएको हो । उनी पाँच दिनअघि मात्रै यादव रेग्मीले छोडेको कुर्सीमा बस्न आइपुगेका थिए । उनले कुर्सी छोडेकै दिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता वर्षमान पुन र पूर्वप्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव जोखबहादुर महरालगायत नेताहरू डिआइजी ओम जोशी र हुतराज थापालाई एआइजी बनाउन हात धोएर लागेको बताइन्छ ।

साउन १५ गतेसम्म जिल्ला जिल्लाबाट पठाइसक्नुपर्ने गुप्तचरहरूको वार्षिक मूल्यांकन रिपोर्ट प्राप्त नभएको अवस्थामा एआइजी दरबन्दी थप गर्नको लागि अर्थमन्त्रालयको सहमति पनि लिएको देखिन्न । तर दलहरूले चाहे जे पनि हुन सक्छ भन्दै भागवण्डामा दरबन्दी थपेर जोशी र थापालाई उकाल्न लागिएको हो । ३७ हजार सशस्त्र प्रहरी भएको ठाउँमा दुई एआइजी र २ हजार जासुसको अड्डामा पनि दुई जना नै एआइजी बनाउने अमिल्दो नीति अपनाउन लागिएको दाबी स्रोतले गरेको छ ।

एकातिर राजनीतिक स्वार्थमा गुप्तचरलाई बेकम्मा सावित गर्ने तयारी भएको छ भने अर्कोतर्फ लोकसेवाबाट छिरेकाहरूलाई पछार्ने नीति बसाल्न लागिएको गुनासो छ । प्रधानन्यायाधीश ६५ वर्ष, न्यायाधीशहरू ६३ वर्ष, निजामती कर्मचारी ५८ वर्ष पुगेपछि घर जाने चलन छ । तर गुप्तचर विभागमा भने कैयन अफिसर २६ वर्ष सेवा अवधि पुग्नेबित्तिकै उमेर ५० वर्ष पनि नपुग्दै घर जाने भएका छन् ।

जबकि यताबाट ०५९ सालमा प्रहरीतिर गएकाहरू आइजिपी हुने र ३० वर्ष सेवा गर्न पाउने रोलक्रममा छन् । यस्तो अमिल्दो नियमका कारण राज्यले लाखौं लगानी गरेर बनाएका अधिकृतहरू हरिहर पौडेल भदौ १४ मा, टेकेन्द्र कार्की असोजमा, प्रकाश पाण्डे मंसिरमा, मधुसूदन कार्की र सुमन वैद्य आउँदो जेठमा घर जाने दिन गनेर बसेका छन् ।

टिप्पणीहरू