अष्ट्रेलियाका नेपाली पत्रकारलाई मानसिक पीडा

अष्ट्रेलियाका नेपाली पत्रकारलाई मानसिक पीडा

विद्यार्थी मात्रै होइन विदेशस्थित धेरै नेपाली अन्य देशका नागरिकझैँ तनाव र चर्को धपेडीका कारण मानसिक रोगको शिकार बन्ने गरेका छन् । फरक ढंगको समाज, घण्टौंको शारीरिक परिश्रमयुक्त पेशा र व्यवसायका कारण विकसित देशमा पुगेका नेपालीहरुमा मानसिक रोगको समस्या देखिएको हो ।

अहिले एक जना नेपाली पत्रकार पनि यस्तै समस्याको शिकार बन्न बाध्य भएको खबर बाहिरिएको छ । पहिले कान्तिपुर टेलिभिजन र अहिले नेपाल ट्युब अष्ट्रेलियामा कार्यरत सरल गुरुङ स्वयंले आफू मानसिक रोगको शिकार भएको जानकारी दिएका हुन् ।

उनले सामाजिक सञ्जालमा मानसिक स्वास्थ्य निकै महत्वपूर्ण रहेको उल्लेख गर्दै यसबारे नेपालीहरु बोल्न हिच्किचाउने गरेको तथ्य बाहिर ल्याएका छन् । लेखेका छन्, ‘तर,म त बोल्ने मान्छे हुँ,मैले पनि आँट गरिन भने कसले बोल्छ ?’

विदेशमा रहेका धेरै नेपालीले झैँ गुरुङले पनि चिकित्सकको सल्लाह लिएको जानकारी गराएका छन् । उनले केही समयदेखि आफ्नो मानसिक स्वास्थ्यमा उतारचढाव आएकाले नियमित काउन्सिलिङमा रहेको यथार्थबारे सबैलाई जानकारी गराइदिएका छन् ।

चिकित्सकीय सल्लाहबीच निको हुने आशमा गुरुङ देखिन्छन् । केही हप्ताको काउन्सिलिङपछि अवस्था सुधारउन्मुख रहेको उनको भनाइ छ । ‘आशा छ,मेरो अवस्था छिट्टै सामान्य हुनेछ । यसबीच समाचारजन्य सामाग्री उत्पादनमा केही सुस्त हुनेछु,तर हाम्रो टीमले भने काम गरिरहनेछ,’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

टिप्पणीहरू