सेनाले बनाइदियो अभिभावक गुमाएका बालबालिकाको निम्ति घर

सेनाले बनाइदियो अभिभावक गुमाएका बालबालिकाको निम्ति घर

पाँचथरमा गत असार १७ गते गएको पहिरोमा बाबुआमा गुमाएका फालेलुङ ७ का दुई जना बालबालिकालाई नेपाली सेनाले घर निर्माण गरिदिएको छ । सेनाको रणशेर गणले गाउँपालिका र जनसेवा समाज पाँचथरको सहकार्यमा तीनकोठे घर निर्माण गरेको हो ।

असार १७ गते रातिको अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा फालेलुङ ७ का रुपलाल मगर, उनकी श्रीमती र भतिजी सबिना मगरको ज्यान गएको थियो । त्यसपछि घरबारविहीन भएका छोरा प्रसन र छोरी करुणा मगरको निम्ति नेपाली सेनाको सक्रियतामा घर बनाइएको हो ।

सेनाको सक्रियतापछि जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीको पहलमा गाउँपालिकाबीच सहजीकरण गरिएको थियो । घर निर्माणमा एक सय ९२ जनशक्ति लागेको जानकारी दिइएको छ । त्यसैगरी डेढ लाख रुपैयाँ लगानी भएको गाउँपालिकाले जनाएको छ ।

उक्त कार्यमा नेपाली सेनाका १६ जना खटिएका थिए । घर निर्माणमा गाउँपालिकाले जस्तापाता र सोको निम्ति आवश्यक किलाकाँटी उपलब्ध गराएको थियो । वडा कार्यालयले काठ र ढुंगामाटो सहयोग गरेको गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले जानकारी दिए । घरमा बाहिरबाट सिमेन्ट प्लाष्टर गरिएको छ । उक्त घर शुक्रबार एक कार्यक्रमबीच सेनाले हस्तान्तरण गरेको हो ।

टिप्पणीहरू