हरियो लगाऔँ: अब हरि–शिव पनि जपौँ

हरियो लगाऔँ: अब हरि–शिव पनि जपौँ

– श्याम रिमाल

‘हरियो भन्नु नि कान्छी त्यो रानीवन
पहेँलो भन्नु सुनखानी सुनमाया निरमाया
जुनेली रातमा नि कान्छी ब्युँझेर हेर्दा
कुटुक्क नै मन खाने सुनमाया निरमाया’(धर्मराज थापा)

सर आइज्याक न्युटनले १७ औँ शताब्दीमा दृश्ययुक्त प्रकाशको समूह नभेटेका भए संसारमा रङ भन्ने चिज नै हुन्नथ्यो होला त ? सूर्यको किरण अप्टिकल प्रिज्ममा पठाउँदा उनले भिग्ब्योरको सङ्गम अर्थात् भ्वाइलेट, इन्डिगो, ब्ल्यु, ग्रीन, एल्लो, अरेञ्ज र रातो । तिनका छेउछेउमा अल्ट्रा भ्वाइलेट र अल्ट्रा रेड पनि । संसारमा प्रारम्भिक तीन रङ मात्र छन्–रातो, पहेँलो र नीलो । अरू कलेजी, बैजनी, हरियो, सुन्तले रङ तीनै रङमध्येबाट मिश्रण गरेर बन्छ । ‘सेतो’ दृश्ययुक्त प्रकाशको तरङ्गदूरीको संयोग अथवा धेरै रङको मिश्रण हो भने ‘कालो’ प्रकाशको अभाव हो । रङको आविष्कार नभएका भए हाम्रो सभ्यता कस्तो हुन्थ्यो होला ? न कृष्ण काले हुन्थे न पार्वती हिउँ जस्ती गोरी !

साउन महिनामा विष्णु जलमा चार महिनाका लागि शयन(सुत्न) गइसकेका हुन्छन् भने शिव पृथ्वी भ्रमण गर्न आउँछन् । उनलाई हरियो, रातो र पहेँलो मन पर्छ अरे । सौभाग्यको रङमध्ये हरियोले साउनको हरियालीसँग पनि तादात्म्य राख्छ । तिनै प्रकृतिसँग जोड्न महिलाले आफूहरूले हरियो वेशभूषा लगाउने गरेको अरे । प्रकृतिको अङ्ग त्यो नेपालको वन हरियो धन त उहिल्यै नाश भइसक्यो । सूर्यबहादुर थापाले जनमतसङ्ग्रहमा ‘पहेँलो’ लाई जिताउन हरियो सब काटे । त्यसको चर्चा अहिलेसम्म हुन्छ । पछि सोही विषयमा बिपी कोइरालाले राजा वीरेन्द्रसँग भनेका थिए, ‘त्यो त मैले सुनेँ । जङ्गल त फाँड्नु पनि पर्छ । वैज्ञानिक तवरले फँडानी हुनुपर्छ र, पुराना रुखहरूलाई काट्नुपर्छ ।

कति क्षेत्रहरूलाई जोत्ने योग्य बनाउनु पनि पर्छ । यो अहिले फँडानी भएको त्यो कुनै सिद्धान्तको आधारमा वैज्ञानिक किसिमबाट भएको छ कि छैन त्यति मलाई भन । जङ्गल फाँडियो भनेर नभन ।…’ राजाले जङ्गल फाँडिएको कुरा स्वीकारेकाले ‘नीलो’ हारेको भन्ने बिपीको कुरामा दम छ । बिपीले त धाँधली नभएका भए आफूहरू अझ ३६ लाखले विजयी भएको पनि ठोकुवा गरेका छन् । यो सङ्ख्याचाहिँ अलि बढी नै भयो कि ? छत्तीस सालका बाँकी ठुटाटुटा रुखसँग न क्लोरोफिल छ न कार्बन । सामुदायिक वनमा पनि अधिकार कटौती भइसक्यो क्यारे अहिले । महिलाले लगाउने ‘पहेँलो’ रङलाई बहुदलवादीले कमलपित्ते रङ भनेर पनि व्यङ्ग्य गरे । पहेँलो विष्णुलाई पनि मन पर्ने रङ हो क्यार । पीताम्बर पवित्र नै मानिन्छ जीवित हुँदा र मृत्यु हुँदा पनि ।

शिवलाई हाम्रै वामपन्थी नेता तथा लेखक मोदनाथ प्रश्रितले नेपालकै किराँत र पार्वतीलाई आर्य मानिदिए र देवाधिदेव भनिए । शिवलाई नेपाली माक्र्सवादी स्कुलका गनेमानेका नेताले नै मानिदिएपछि अरूले पनि हस् भनिदिनैपर्यो । सत्ययुगकालीन पुराणवर्णित शिव हाम्रा ‘कल्याण’ नै हुन् । उनको ज्योतिर्लिङ्ग पशुपति नै नेपालमा छ जुन केदारनाथको खास शिर हुन् भनिन्छ । हरियो जङ्गल छेउ रहेका पशुपतिनाथलाई हरिया–पहेँला वेशभूषा–गहनागुरियाले सजिएर दर्शन, आराधना, उपासना गर्दा आफ्नो पनि कल्याण नै हुन्छ । सोमबारको अर्थ चन्द्रबार पनि हो । चन्द्रमा शिवका शिरमा रहन्छन् । सोही बार शिवको प्रिय पनि भएकाले यस दिन घुइँचो लाग्नु स्वाभाविक हो । बोलबमवालाहरू पनि यसै महिना र बार शिवालयमा पुगी जल चढाएर आफूलाई धन्य सम्झन्छन् । भारतको बाबाधाम पनि यसै महिना र बार बढी पुजिन्छन् जसको कथा रावणले शिवसँग मागेर ल्याइएकी पार्वतीसँग जोडिन्छ । नेपालकी भृकुटी तिब्बतमा हरितताराबाट प्रख्यात छिन् । महायान बौद्धधर्ममा तारा भन्नाले मुक्तिदाता वा नारी बोधिसत्त्व मानिन्छ जो सबै बुद्धकी आमा पनि हुन् । क्रियाशीलता वा गतिविधिको प्रतीकका रूपमा हरियो तारालाई लिइन्छ । त्यसैले उनी तिब्बतमा हरिततारा (स्रङचङ गम्पोकी अर्की पत्नी वेनचुङ श्वेततारा)का रूपमा मानिन्छिन् । हरियोको गरिमा बौद्धधर्मसँग पनि जोडिनु अध्ययनको विषय हो ।

अनि यो मेहन्दीको कथा के हो निः हाम्रा गाउँघरमा तिउरी भनिने बिरुवाको पात मिचेर लगाउँदा हात नै पहेँलो हुन्छ । गोठाला जाँदा होस् वा फुर्सदमा, महिलाहरूले लगाउने तिउरीको रूप मेहन्दी भएको छ । साउन १ गतेदेखि नै दुवै हातगोडामा लगाइने मेहन्दी बिहेको अघिल्लो दिन पनि हुनेवाला दुलहीहरूले लगाउँछन्–साथीहरू बोलाएर । मेहन्दी लगाउने दिन एक विशेष दिन नै बन्छ चेलीबेटीहरूलाई । मेहन्दीको फेशन दक्षिण एशियाको फेशन नै बनेको छ अहिले र पश्चिमतिर पनि पुगिसकेको छ । अनेक बुट्टादार मेहन्दीले दिने सौन्दर्यको आफ्नै विशेषता छ । अहिले हाम्रा शहरबजारमा मधेशका साथीहरू निकै मेहनत लगाएर युवतीहरूका हातमा मेहन्दी लगाउँछन् र पारिश्रमिक पनि लिन्छन् ।

हरियोको महत्त्व हिन्दू र बौद्ध दुवै धर्मले मानेकाले किन अन्धविश्वास भनेर पन्छिने ? हरियो बत्ती बलेपछि नै सवारी पनि चलाउन पाइन्छ । पशुलाई हरियो घाँस देखाएपछि न तपाईंको पछि लाग्छ । हरिया डलरकै लोभमा नेपाली युवा विदेशमा भासिएका छन् । पहेँलो सुनमा राजा परीक्षितले पनि लोभिएर कलियुग डाके । हरियो र पहेँलोको यस्तो महत्त्व देख्दादेख्दै पनि मानिसहरू किन खिसीट्युरी गर्छन् हँ ? हरियो जपियो भने हरि, शिव दुवैको अर्चना हुन्छ । केही फलिफाप भइहाल्छ कि ? साउनमा आँखा फुटेको गोरु त सधैँ हरियो देख्छ भने मनुष्य प्राणी हरियोकै पछि कुद्नु नै जाती होला ।

‘हरियो भन्नु त्यो कचु पात पहेँलो हो माइली सुरती
जुगैलाई भरि माइली हुँदैन भने के लाउनू पीरति’

टिप्पणीहरू