पुष्पलालको सम्मानार्थ माधव नेपाल कीर्तिपुरको पाखामा,केपी ओली ताम्सीपाखाम

पुष्पलालको सम्मानार्थ माधव नेपाल कीर्तिपुरको पाखामा,केपी ओली ताम्सीपाखाम

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको आज ४४ औँ स्मृति दिवस मनाइँदैछ ।

पुष्पलालले विसं २००६ वैशाख १० गते पहिलोपटक नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको थियो । वि.सं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मनुभएका पुष्पलालको २०३५ साउन ७ गते उपचारका क्रममा भारतमा निधन भएको थियो ।

उहाँले निरञ्जनगोविन्द वैद्य,नारायणविलास जोशी,नरबहादुर कर्माचार्य र मोतीदेवीसँग मिलेर पहिलो पटक भारतको कोलकातामा नेकपा स्थापना गर्नुभएको हो । त्यसअघि विसं १९९८ मा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गर्नुभएको थियो ।

कम्युनिष्ट पार्टीको स्थापनापछि पुष्पलालले नेपालीमा पहिलो पटक ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ अनुवाद गर्नुभएको थियो । त्यसपछि कम्युनिष्ट पार्टीहरुलाई संगठित गर्नुभयो ।

पुष्पलाल नेपालमा मार्क्सवादी विचार फैलाउने पहिलो व्यक्तित्व र जनवादी क्रान्तिको कार्यक्रम अघि सार्ने प्रमुख सिद्धान्तकार पनि हुनुहुन्छ ।

अध्ययनशील पुष्पलालसंँग नेपालको वर्तमान स्थितिका बारेका कार्यदिशा दिने अद्भूत क्षमता थियो । उहाँले नेपालको गहिरो इतिहास अध्ययन गरेर केही पुस्तकसमेत प्रकाशन गर्नुभएको छ ।

उनै पुष्पलालको स्मृति दिवस आज राजधानीमा दुईतिर मनाईंदै छ । नेकपा (एमाले) ले काठमाडौंको भित्री शहरमा रहेको ताम्सीपाखाको पुष्पलाल चोकमा कार्यक्रम आयोजना गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले पुष्पलालको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

उता कीर्तिपुरको चम्पादेवीस्थित प्रतिष्ठानमा पनि पुष्पलालको शालिकमा माल्यार्पण गरेर ४४ औं स्मृति दिवस प्रारम्भ भएको छ । प्रतिष्ठानका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव नेपाललगायतका नेताहरु कार्यक्रममा सहभागी हुनुहुन्छ ।

टिप्पणीहरू