अदालतमा काँग्रेस छिरेको एमाले अध्यक्षको आरोप

अदालतमा काँग्रेस छिरेको एमाले अध्यक्षको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसमाथि न्यायालय र सरकारी संयन्त्रमा कार्यकर्ता थुपारेको आरोप लगाउनुभएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी छद्म नाममा नेकपा एमालेको विभागीय जिम्मेवारीमा रहेको चर्चा चलिरहेका बेला ओलीले त्यसको बचाउमा यस्तो प्रतिक्रिया दिनुभएको हो ।

एमालेको वित्त तथा योजना आयोगको सदस्य रहेका खोटाङका एम. अधिकारीका सम्बन्धमा उठेका प्रश्नको बचाउ गर्दै अध्यक्ष ओलीले काँग्रेसका सदस्य पनि विभिन्न सरकारी निकायमा रहेकाले यता मात्र प्रश्न नउठाउन आग्रहसमेत गर्नुभयो । राज्यका विभिन्न निकायमा नेपाली काँग्रेसका समर्थक पनि रहेको भन्दै उहाँले एम. अधिकारी नखोज्न आग्रह गर्नुभएको हो ।

एम. अधिकारीको नाममा राष्ट्र बैंकका गभर्नर अधिकारी एमालेको आयोगमा सदस्य बसेको भन्दै अहिले चौतर्फी बिरोध भइरहेको छ । गभर्नर अधिकारी र एमालेका केही नेताहरुले एम. अधिकारी अर्कै व्यक्ति भएको बताए पनि मान्छे चिनाउन भने सकेका छैनन् ।

आफू र पार्टीप्रति उठेका हरेक प्रश्नको तात्तातै जवाफ दिने ओली यो विषयमा भने अहिलेसम्म मौन हुनुहुन्थ्यो । आज मौनता तोड्दै उहाँले भन्नुभयो, ‘नेकपा एमालेले भनिरहेको छ, खोटाङको एम. अधिकारी कि के जाति खोज्या खोज्यै छ काँग्रेस, सबैतिर काँग्रेस छन् नि, न्यायालयमा काँग्रेस छन् ।’

टिप्पणीहरू