गृहमन्त्रीकाे नाम बेच्दै तस्करी चलाउनेकाे अखडामा भन्सारकाे “रेड”

गृहमन्त्रीकाे नाम बेच्दै तस्करी चलाउनेकाे अखडामा भन्सारकाे “रेड”

गृहमन्त्री बालकृष्ण खाँणकाे खास मान्छे भन्दै रुपन्देही जिल्लामा तस्करहरुसँग साँठगाँठ बढाएका प्रहरी अधिकृतकाे संरक्षणप्राप्त अखडामा भन्सारले छापा हानेकाे छ ।

भैरहवा भन्सार कार्यालयले धेरै दिनकाे सूचना संकलनपश्चात गएराति बेथरी इलाका प्रहरी कार्यालयका ईन्चार्ज सई प्रकाश शाहीकाे मिलेमताेमा तस्करी गरी नेपाल भित्र्याइएकाे लाखौं मूल्य बराबरकाे कपडा सहितकाे अवैध सामग्री लुकाई राखेकाे गाेदाममा छापा मारेको हो । यसरी सामान र गाडी बरामद गरिएकाे भन्सारका सूचना अधिकारी तीर्थराज पासवानले बताए ।

भन्सारले अवैध सामग्री राखेकाे गाेदाममा छापा मारेर ९ लाख ८० हजार मूल्य बराबरकाे कपडा , लु १ ज ४४६२ नम्बरकाे पिकअप बरामद गरेकाे हाे । पक्राउ परेका चालकले बेथरी प्रहरीकाे सहयाेगमा सामान बनगाईसम्म ल्याएकाे बताए ।

“राजकुमार केवट नाम गरेका चालक पक्राउ परेपछि यतिबेला बेथरीका सई साप तनावमा पर्नु भएकाे छ । सबै सेटिङ मिलाउने उहाँले नै हाे,यत्तिका महिनासम्म केही भएकाे थिएन,एकैचाेटि साउन लागेपछि किन हाे अलि समस्या भइराखेकाे छ ” नाम नबताउने शर्तमा एकजना व्यवसायीले जनआस्थासँग भने ।

सई शाहीमाथि यतिबेला चिनी,कपडा, हार्डवेयरका सामान, पेट्राेलियम पदार्थ बेथरी क्षेत्रबाट तस्करी गराउन सहयाेग गरिरहेको आरोप छ । रुपन्देही प्रहरीका प्रवक्ता डिएसपी नवरत्न पाैडेलकाे सहकार्यमा शाहीले तस्करीलाई बढावा दिएका हुन् । गृहमन्त्रीकाे सचिवालयले रुपन्देही प्रहरी प्रमुख सहित अन्य अधिकृतलाई शाहीलाई कुनै काममा डिस्टर्ब नगर्न निर्देशन नै दिएको बताइन्छ ।

सइ शाही र डिएसपी पाैडेलकाे गतिविधिबाट प्रहरी प्रमुख रविन्द्र रेग्मीसमेत तनावमा परेका छन् । रेग्मीभन्दा अगाडिका एसपी मनाेज केसीलाई समेत नटेर्ने शाहीको धन्दा उस्तै छ । शाहीलाई यसअघि एसपी मनाेज केसीले समेत कारबाही गर्न खाेज्दा गृहकाे ठाडाे आदेशपछि राेकिएका थिए । “शाही एकहप्ताअगाडि जिल्ला प्रहरी कार्यालयमा आएकाे भएता पनि उनकाे खटनपटन उतै बेथरीतिर रहेकाे छ ।”

टिप्पणीहरू