पार्टी सदस्य बन्नु र बहुलाउनु एउटै ?

पार्टी सदस्य बन्नु र बहुलाउनु एउटै ?

हालैको कुरा हो, गभर्नरबारे विवाद निस्कियो । वर्तमान गभर्नर कुनै अमुक पार्टीको सदस्य हो, त्यसैले पदमा बस्नु हुँदैन भनेर विरोध भएको रहेछ ।

यही विवादका बीच कुनै पनि गभर्नरले कुन कुन अवस्थामा राजीनामा गर्नुपर्छ वा गभर्नर बन्न के के गर्नुहुन्न भन्ने नियम पनि बाहिर आएको छ । त्यस्तो नियममा गभर्नर बन्न गर्न नहुने केही विशेष बुँदाहरू रहेको देखिन्छ ।

जस्तो गभर्नर बन्न राजनीतिक दलको सदस्य हुनुहुँदैन । त्यस्तै अर्को बुँदामा दिमाग खुस्केको हुनुहुँदैन र कालो सूचीमा परेको हुनुहुँदैन भन्ने बुँदा पनि थपिएको छ । अर्को बुँदामा बहुलाएको, नैतिक पतन भएको, ऋण तिर्न नसकी साहुको दामासाहीमा परेको हुनुहुँदैन भन्ने पनि लेखिएको छ ।

यो नियम हेर्दा थाहा भयो, वास्तवमा कुनै पनि पार्टीको सदस्य बन्नु र बहुलाउनु भनेको एउटै कुरा रहेछ । किनभने यी दुवै भएको मान्छे गभर्नर बन्न मिल्दैन । त्यस्तै पार्टी सदस्य बन्नु र नैतिक पतन हुनु भनेको पनि एउटै कुरा रहेछ ।

किनभने जसरी नैतिक पतन भएको मान्छे गभर्नर बन्न मिल्दैन त्यसरी नै दलको सदस्यता लिएको मान्छे पनि गभर्नर बन्न मिल्दैन । भन्नाले नैतिक पतन हुनु, बहुलाउनु र दलको सदस्य हुनु भनेको एउटै कुरो त रहेछ नि, हैन र ?

टिप्पणीहरू