बाँसुरीको ठाउँमा तबला

बाँसुरीको ठाउँमा तबला

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह अस्ति फेरि एमाले अध्यक्ष कमरेड केपी ओलीलाई भेट्न बालकोट जाँदा एउटा तबला उपहार पाउनुभएछ ।

ओलीलाई भेट्न बालेन साह किन बालकोट जानुभयो थाहा छैन । हुन त उहाँ निर्दलबाट जित्नुभएको मेयर हुनुहुन्छ तर सबैभन्दा बढी दलहरूको ढोका ढोका पुग्ने पनि उहाँ नै हुनुहुन्छ ।

दलीय मेयर भएको भए आफ्नै दलको एक जना नेताको मात्रै ढोका चाहारे पुग्ने थियो तर निर्दलीय भएका कारण सबै दलका नेताहरूको ढोका चहार्नुपर्ने बाध्यता छ । कहिले एमाले नेता, कहिले कांग्रेस नेता त कहिले नेमकिपा नेताको घरमा जानुपर्ने अवस्था छ ।

अस्ति बालकोट जाँदा कमरेड ओलीले उहाँलाई एउटा तबला उपहार दिनुभयो । ओलीको तबला पनि खुबै भाइरल बन्यो तर नबुझिएको कुरा के हो त भन्दा मेयर साहलाई तबला उपहार चाहिँ किन नि ? के हो यसको कारण ? धेरैको मनमा यही प्रश्न छ ।

अहिले काठमाडौंमा अनेक समस्या छन् । शायद ती समस्याका बीचमा बसेर आनन्दले तबला बजाउनु भनेर पो त्यो उपहार दिनुभएको हो कि ? पहिला पहिला रोम शहर जलिरहँदा पनि त्यहाँका सम्राट नीरो बाँसुरी बजाइरहेका थिए रे । शायद बालेनलाई पनि नीरोले बाँसुरी बजाएजस्तै तबला बजाएर बस्नु भनेर उपहार दिइएको हो कि ?

टिप्पणीहरू