एन्फामा लफडा: पाण्डेको कुरो उठेपछि अध्यक्ष बैठक छाडेर टाप

एन्फामा लफडा: पाण्डेको कुरो उठेपछि अध्यक्ष बैठक छाडेर टाप

अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिति बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको छ ।

एन्फा मुख्यालय सातदोबाटोमा झण्डै दुई घण्टा ढिलो सुरु बैठकमा कार्यसमितिका १२ जना सदस्यले पहिलो बैठकको निर्णय सच्चाउन माग गर्दै हस्ताक्षर अभियान सुरु गरेपछि अध्यक्ष पंकजविक्रम नेम्वाङ बैठक स्थगित गरेर हिँडेका हुन् ।

गत जेठ ८ गतेको पहिलो बैठकबाट अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त नवीन पाण्डेको बर्खास्तीको माग गर्दै निवेदन परेको छ । वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र उपाध्यक्ष विराटजंग शाहीले निवेदन दिएका हुन् । श्रम स्वीकृति नलिई जर्मन नागरिक पाण्डेलाई नियुक्त गर्ने निर्णय विधानविपरित रहेको निवेदनमा भनिएको छ ।

असार ६ गते कर्माछिरिङ शेर्पालाई हराउँदै अध्यक्षमा निर्वाचित भएपछिको पहिलो बैठकले महासचिव, अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख र कोषाध्यक्षमा क्रमशः किरण राई, नवीन पाँडे र रविन्द्र जोशीलाई नियुक्त गरिएको हो । प्रक्रिया पूरा नगरी नियुक्त गरिएकाले त्यसको विरोध हुँदै आएको बताइन्छ । अहिले उक्त निर्णय सच्चाउन खोजिएको कार्यसमितिका एक पदाधिकारीले बताए ।

आजको बैठकमा सिइओ, तीन सहमहासचिव र प्रवक्ता नियुक्तिसँगै नेपालमा हुने तय भएको महिला साफ च्याम्पियनसिप र नेपाल सुपर लिग (एनएसएल) को बारेमा निर्णय गर्ने भनिएको थियो ।

यसअघि सोमबार नेम्वाङ अचानक ‘बिरामी’ परेकाले स्थगित गरिएको बैठक आजलाई बोलाइएको थियो ।

टिप्पणीहरू