बुवा गुमाएका समिर भन्छन्ः डक्टरलाई छुट कहिलेसम्म ?

बुवा गुमाएका समिर भन्छन्ः डक्टरलाई छुट कहिलेसम्म ?

विश्वभर चिकित्सकलाई भगवानको दर्जा दिइन्छ । चिकित्सकले आफ्नो कर्म राम्रोसंग निभाए भने जटिल बिरामीले नयाँ जीवन पाँउछन् । तर, चिकित्सक क्रुर बनिदिदाँ सामान्य बिरामीको ज्यान गएका थुप्रै खबर बाहिरिएका छन् । स्वास्थ्य संस्थाहरु जिम्मेवार नहुँदा सामान्य बिरामीको कसरी ज्यान जान्छ भन्ने घटना तल उजागर गर्न खोजिएको छ ।

ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा गत जेठ २५ गते योगेन्द्रबहादुर बस्नेतको ज्यान गयो । नियमित स्वास्थ्य जाँचका निम्ति जेठ १७ गते अस्पताल पुगेका उनले डाक्टर सुनिल शर्मासंग परामर्श लिइरहेका थिए ।

उच्च रक्तचापका बिरामी योगेन्द्रलाई डा. शर्माले पित्तको अपरेशन गर्नुपर्छ भनेपछि सोहीअनुसार जेठ २२ गते ल्याप्रोस्कोपी विधिबाट अपरेशन भयो । अपरेशन हुनुभन्दा ७२ घण्टाअघि उनले प्रयोग गर्दै आएको वेनफारिन नामक औषधी बन्द गरिएको थियो ।

उच्च जोखिमका बाबजुद डाक्टरले अपरेशन गरे । त्यसको २४ घण्टापछि उनलाई नर्मल वार्डमा सिफ्ट गरिएको थियो ।

डाक्टरले बिरामीलाई एक दुई दिनमा डिस्चार्ज गर्दा हुन्छ भनेका थिए । जेठ २४ गते बेलुका करिब ६ बजेतिरबाट बिरामीलाई अपरेशन गरेको ठाँउमा असाध्यै दुख्यो । परिवारले तत्कालै नर्सिङ स्टेशनमा खबर गरे ।

नर्सले प्रेसर र पल्स जाँच गरेर अवस्था सामान्य रहेको भन्दै फर्किइन् । तत्पश्चात शौचालय जाँदा उनी अचानक ढले । भुँईमा नराम्रोसंग बजारिदा मुख बाँगियो ।

बल्लतल्ल परिवारले उठाएर बेडमा ल्यायो । मेडिकल अधिकृतको टोली र कार्डियोलोजिस्टले जाँच गरेर अवस्था सामान्य रहेको जानकारी दिए । त्यस समय बिरामीको रक्तचाप उच्च रहेको परिवारको भनाइ छ ।

बेलुका ८ बजे बेड सिफ्ट गर्नुअघि उनी पुन: लडे । नर्सले आएर हेमोग्लोबिन–सोडियम कम भएको भन्दै नून पानी र अस्पतालले उपलब्ध गराउने खाना खुवाउन लगाइन् । बिरामीले नमान्दामान्दै पनि जबरजस्ती खाना खुवाएर दुखाइ कम गर्ने औषधी खान दिइयो । उक्त औषधी दिदाँसमेत बिरामी दुख्यो भनेर कराइरहेका थिए ।

मेडिकल अफिसरले केही हुदैँन भनेर ढाडस दिए । त्यसको एक घण्टापछि बिरामी पुन: बेडमै बेहोस भए । उनलाई रगत चढाउनुपर्ने अवस्था बनेको थियो । राति ३ बजेतिर बिरामी अचेत भएपछि उनलाई मेडिकल अफिसरले सिपिआर दिई आइसियुमा सारे ।

भिडियो एक्सरेमा आन्तरिक रक्तस्राव देखिएपछि फेरि पनि अपरेशन गर्नुपर्ने भयो । अपरेशनपछि पनि आन्तरिक रक्तस्राव रोकिएन र भेन्टिलेटरमा सारियो । डाक्टरले धेरै वटा अंगले काम गर्न छोडेको र बाँच्ने सम्भावना न्युन रहेको बताए । त्यसको भोलिपल्ट उनी सदाका लागि संसारबाट बिदा भए ।

डाक्टरको लापरवाहीले बिरामीको ज्यान भएको भन्दै परिवारले असार ६ गते छानबिन गरिपाँऊ भनेर अस्पतालमा निवेदन दिए । डा. जयन्द्र बज्राचार्यको नेतृत्वमा छानबिन समिति गठन भयो ।

त्यसको एक सातापछि अस्पताल पुगेका परिवारजनले आश्चर्यचकित जवाफ पाए । डा. शर्माले सहजसंग आफूले डा. राजीव मिश्रलाई बिरामी हेर्न जान भनेको र उनले उपस्थित नभई गलत रिपोर्ट दिएको भनेर जवाफ फर्काए ।

यता,डा. मिश्रले आफ्नो हात काटेकाले स्कुटर चलाउन नसकेर अस्पताल नआएको कुरा निर्धक्क भएर सुनाए । प्रश्न उठेको छ,‘उनी अस्पताल नआउन नसक्ने भए प्रशासनलाई किन जानकारी गराएनन् ?’

बिरामीलाई सोडियम–हेमोग्लोबिन कम भएको थाहा हुँदाहुँदै पनि किन लापरवाही गरियो ? तीन चोटि झट्का लाग्दा पनि आन्तरिक रक्तस्रावको शंका किन गरिएन ?

उपचारको लागि कुन कुन डाक्टर उपस्थित हुनुपर्ने थियो र को–को उपस्थित भए ? कुन उपचार विधि अवलम्बन गरियो भन्नेबारेमा सत्यतथ्य छानविन गरी कारबाही गर्नुपर्ने माग परिवारजनको छ ।

डा. बज्राचार्यको संयोजकत्वमा गठन भएको समितिले तीन डाक्टरलाई निलम्बन गरी छानबिन अघि बढाएको पत्र दिएका छन् । योगेन्द्रको ज्यान गएको ४२ दिन बितिसक्दा पनि अस्पतालले गतिलो कारण दिन नसकेको छोरा समिरबहादुर बस्नेतले बताए ।

परिवारले पटकपटक घटनाको निष्पक्ष छानबिन गर्न माग राखेपनि सुनुवाई हुन सकेको छैन । महिना दिन दौडधुप गर्दा पनि न्याय नपाउने देखेपछि समिर निराश बनेका छन् ।

समिरकाअनुसार घटनाबारे जानकारी लिन खोज्दा छानबिनमा संलग्न डाक्टरहरु फोन उठाउँदैनन् । जसले गर्दा उनले असार २८ गते मेडिकल काउन्सिलमा उजुरी दिएका छन् ।

काउन्सिलका डा. कृष्ण अधिकारीले मेडिसिटीलाई उजुरीबारे जानकारी गराएको र छानबिन हुन लामो समय लाग्ने बताएका छन् । अस्पतालले यो मुद्दालाई दबाउन खोजेको परिवारजनको आरोप छ ।

टिप्पणीहरू