जंगीअड्डाको अदालत सिंहदरबार सार्न माग

जंगीअड्डाको अदालत सिंहदरबार सार्न माग

नेपाली सेनाको मुख्यालयमा रहेको सैनिक विशेष अदालत सिंहदरबारभित्र सार्न प्रतिनिधिसभाका एक सांसदले माग गरेका छन् । जंगीअड्डामा रहेको सैनिक अदालतको कामकारवाहीका विषयमा सेनाभित्रै चर्को असन्तुष्टि बढिरहेका बेला बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद रेणुका गुरुङले यस्तो माग गरेकी हुन् ।

उनले सैनिक अदालतमा बेथिति बढेको र न्यायप्रति विश्वास घटेको पनि दाबी गर्दै अनुगमनको माग पनि गरेकी छिन् । ‘सेनामा न्यायप्रति विश्वास घटेको छ । सैनिक विशेष अदालतको वेथितीका विषयमा निरन्तर अनुगमनको लागि जोडदार माग गर्दछु । सैनिक विशेष अदालतलाई सिंहदरबारभित्र र सैनिक परिसर बाहिर सार्न माग गर्दछु,’ सांसद गुरुङले भनिन् ।

सैनिक विशेष अदलतमा चरम बेथिति बढेको र समयमै न्याय पाउन नसकेको सेनाभित्रैबाट गुनासो आइरहेको छ । कम्तिमा हप्ताको एक दिन इजलास बस्नुपर्ने व्यवस्था भए पनि अनेक बहानामा त्यसै पर्गेल्ने गरेको आरोप लागिरहेको छ । जसका कारण अवकाश हुँदासमेत मुद्दा बोकेरै निस्कनुपर्ने बाध्यता रहेको एक सैनिक अधिकारीले बताए ।

सैनिक अदालतमा उच्च अदालतका न्यायाधीश रहने व्यवस्था छ । उनी नेतृत्वको इजलासमा रक्षा मन्त्रालयका सचिव र सैनिक अधिकारी पनि रहन्छन् ।

टिप्पणीहरू