कुरो नागरिकता विधेयकको, छलफल भारत भ्रमणको

कुरो नागरिकता विधेयकको, छलफल भारत भ्रमणको

प्रतिनिधिसभाको यहि कार्यकालमा नागरिकता विधेयक पारित गर्ने चटारोले दौडधुपमा रहेका दुई मन्त्री अस्ति बिहानै सत्तारुढ दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुग्नुभयो । सरकारले वर्षौँसम्म संसदमा विचाराधीन विधेयक फिर्ता लिएर ल्याएको नयाँ विधेयकबारे विभिन्न असन्तुष्टिहरू सार्वजनिक भैरहेका बेला सत्ता गठबन्धनका प्रमुख नेता भेट्न गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्द बन्दी एकाबिहानै खुमलटार जानुभएको हो ।

प्रमुख प्रतिपक्ष एमालेलाई समेत मनाएर सर्वसम्मतिमा विधेयक पास गराउने प्रयासमा सरकार लागेको छ । त्यसअघि सत्तारुढ दलहरुका वीचमा एकमत हुनुपर्ने हुन्छ । तर, वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्ने प्रावधानबारे सत्तारुढ दलमै विवाद आउनसक्ने देखिएपछि मन्त्रीद्वयले बारम्बार प्रचण्डलाई भेट्ने गर्नुभएको छ ।

“मोदीसँग भेट नभए पनि खुफिया एजेन्सी चलाउने राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई दुई घण्टा एक्लाएक्लै भेटेपछि ‘मामला क्लियर’ भएकाले प्रचण्डको भ्रमण सफल भएको कतिपयको तर्क छ ।”

किनभने तत्कालीन नेकपा (हालको एमाले,माओवादी केन्द्र र एकीकृत समाजवादी) नेपाली नागरिकसँग विवाह गरेका महिलाले पनि नेपालमै सात वर्षसम्म निरन्तर बसोबास गरेपछि मात्रै नागरिकता पाउने प्रावधान राख्नपर्ने पक्षमा छन् । कांग्रेस र मधेसकेन्द्रित दलहरु बिबाह गरेर आउनेबित्तिक्कै नागरिकता पाउने व्यवस्था राख्ने पक्षमा छन् । सरकारले अहिले ल्याएको नयाँ विधेयकमा पनि सोही प्रावधान राखिएको छ ।

नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले सात वर्षपछि मात्रै नागरिकता पाउनुपर्ने अडानमा त्यतिखेर सिंगो नेकपा एकढिक्का थियो । भलै पछि महन्थ ठाकुरहरुलाई सरकारमा लैजान केपी ओलीले ल्याएको अध्यादेशमा उक्त व्यवस्था थिएन । माओवादी केन्द्र र एकीकृत समाजवादीले अहिले पनि नागरिकताबारे संस्थागतरुपमा पुरानो धारणा परिवर्तन नगरेकाले संशोधन प्रस्ताव नआउने ग्यारेण्टी खोज्न मन्त्री खाँण र बन्दी प्रचण्ड भेट्न गएको अनुमान गरिएको छ । बताइएअनुसार प्रचण्डले अहिले गर्न सकिने जति सहमति गरेर बाँकी छलफल गर्दै जाने बताएपछि उहाँको भारत भ्रमणबारे कुरा शुरु भएको थियो ।

भारत भ्रमणको प्रसंग निस्किएपछि प्रचण्डले सन्तुष्ट भावमा ‘उत्साहजनक र दुई देशबीच नयाँ सम्बन्ध कायम गर्न सफल भएको’ जवाफ दिनुभएको बताइन्छ । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भनिएको उहाँको भेट नहुँदा भ्रमण असफल भएको चर्चा र टिप्पणीप्रति मन्त्रीद्वयको चासो थियो । शुक्रबार दिल्ली उड्नुअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै स्वयं प्रचण्ड आफैँले भारतका प्रधानमन्त्री र सरकारी पदाधिकारीसँग भेट हुने भएकाले आफ्नो भ्रमण महत्वपूर्ण रहेको बताउनुभएको थियो ।

तर,उच्च जानकार स्रोतले भने प्रचण्डको मोदीसँग भेट्ने कार्यक्रम नै नरहेको दावी गरेको छ । भ्रमण तालिकामा ‘हाइ प्रोफाइल भिजिट येट टु बी कन्फर्म’ भनेर लेखिएको थियो । मोदीसँग भेट्ने भनेर लेखिएको थिएन । त्यसको अर्थ मिल्यो भने भेट्ने भनिएको हो । तर, जानकार स्रोतले भने दिल्ली भ्रमणका लागि प्रस्ताव आएपछि प्रचण्डले मोदीसँग भेट हुने सुनिश्चितता खोज्नुभएको र भारतीय पक्षले पनि सकारात्मक जवाफ दिएपछि चिनियाँ नेता भेटेर तात्तातै दिल्ली उड्न तयार भएको बताएको छ ।

मोदीसँग भेट नभए पनि खुफिया एजेन्सी चलाउने राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई दुई घण्टा एक्लाएक्लै भेटेपछि ‘मामला क्लियर’ भएकाले प्रचण्डको भ्रमण सफल भएको कतिपयको तर्क छ । काँग्रेसले केन्द्रीय समितिको बैठकबाट चुनावसम्म सत्ता गठबन्धन कायम राख्ने निर्णय गर्नुका पछाडिको कारण त्यही हो भनिन्छ ।

टिप्पणीहरू