करोडौँको घुस डिल गर्ने अधिवक्तालाई ७ दिने सूचना

करोडौँको घुस डिल गर्ने अधिवक्तालाई ७ दिने सूचना

झापा जिल्ला, जुरोपानी वडा नम्बर ८ स्थायी ठेगाना भई हाल उच्च अदालत बार एसोसिएसन पाटनका सदस्य अधिवक्ता रुद्रप्रसाद पोखरेल (प्र.प.नं.५४५६) को नाममा नेपाल कानुन व्यवसायी परिषद्ले सात दिने सूचना जारी गरेको छ ।

हाल कारागारमा रहेका सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई धरौटीमा छुटाउन करोडौँको डिल भएको अडियो प्रकरणका मुख्य दोषी अधिवक्ता पोखरेलको नाममा उक्त सूचना जारी भएको हो ।

सूचनामा भनिएको छ, ‘जिल्ला अदालतमा विचाराधी ठगी मुद्दामा निजलाई धरौटीमा छुटाउन मोलमोलाइ गरी तपाईं र न्यायाधीशबीचको फोन वार्ताको सन्दर्भमा परेको उजुरीबाट कानुन व्यवसायीको आचारसंहिता २०५१ को विपरीत काम गरेको भन्दै उजुरी परेकोले तपाईँलाई कारबाही गर्नु पर्ने हो कि होइन ? भन्दै अनुशासन समितिको नियमावली २०५८ को नियम ६(३) बमोजिम सूचना जारी गरिएको भनिएको छ ।

पोखरेललाई आजको मितिले ७ दिनभित्र जवाफ पेस गर्न र अन्यथा कानुनबमोजिम अघि बढ्ने चेतावनी दिइएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग उनले गरेको फोन वार्तामा जेलमा रहेका तामाङलाई छुटाउन प्रधानन्यायाधीशसम्म सेटिङ मिलाएको र आफूहरूलाई दुई करोड भागमा पर्ने भन्दै पोखरेलले डिल गरेका थिए । त्यही अडियो प्रकरणलाई लिएर परेको उजुरीको आधारमा उक्त सूचना सार्वजनिक भएको हो ।

टिप्पणीहरू