जग्गा नाप्दानाप्दै कवितामा बगेको जिन्दगी « Jana Aastha News Online
Logo
१६ आश्विन २०७९, आईतवार
|  Sun Oct 2 2022
Logo
१६ आश्विन २०७९, आईतवार
|  Sun Oct 2 2022

जग्गा नाप्दानाप्दै कवितामा बगेको जिन्दगी

प्रकाशित मिति :  ५ श्रावण २०७९, बिहीबार २०:००


जमिनको लम्बाइ नाप्न सजिलो कि कविताको ? निश्कर्ष आ–आफ्नो होला । उनीचाहिँ एकसाथ नाप्छन् कवितासँगै जमिनको लम्बाइ । कविताको लम्बाइ नाप्ने रहर त बाल्यकालदेखिकै हो, संयोगले जागिरे बने जग्गाको लम्बाइ नाप्ने । आखिर जीवन भन्नु पनि त आयु नाप न हो ! वास्तविक नाम ह्वाइटहाउस कलेजका मालिकको नामसँग ठ्याक्कै मिल्छ । साहित्यिक वृत्तमा चिनिन्छन् आविष्कार कलाको नामले । जागिरे साथीसंगी साहित्यिक वृत्तका चिरपरिचितहरू वाह क्या नाम छ भन्छन् ‘तपाईको नाममै दम छ ।’ तर यो नाम बनाउन उनले गरेको संघर्ष,पेलेका पापड कसले देख्छ र ? अक्सर दुनियाँले अरुको सफलताका कथा देख्छ/पढ्छ तर कमैले देख्छन् त्यो सफलतापछिको संघर्ष ।

जन्मिए प्युठान, मल्लरानी गाउँपालिका–३ मा साढे तीन दशक अघि । ४ सन्तानमध्ये जेठा । त्यही कारण काँधमा जिम्मेवारीको भारी अलि बढी नै थियो । जागिरे जीवनमा प्रवेश गरेको पनि दुई दशक व्यतित भइसक्यो । ०६६ सालदेखि निजामती सेवामा पाइला राखे । यस बीच नापी विभागअन्तर्गत ८ वर्ष बिताए । सर्भेयरका रूपमा तानसेन नगरपालिका (पाल्पा), बुटवल, नवलपरासीसम्म पुगे । ०७४ सालदेखि नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय, काठमाडौंमा तैनाथ छन् ।

सर्भेयरको जागिर आफैँमा खतरा हो । कतिखेर के हुन्छ पत्तो हुँदैन । जग्गा, नापजाँच गर्न वनजंगल, खोलानाला, भीर पाखा जता पनि चाहरिरहनुपर्छ । उसो त मान्छे आफ्नो भन्दा अरुको काम आकर्षक देख्छ । खतरा नभएको जीवन के जीवन ? खतरासँग खेल्नुमै जीवनको आनन्द छ । यी सबै खतरा त एक ठाउँमा छँदै छन्, यी खतराभन्दा ज्यादा यात्राका क्रममा देखेको जनजीवनले उनको कवि मनमा प्रहार गर्छ । अनि आविष्कार गर्न थाल्छन् शब्द र अक्षरहरू । जागिर सँगसँगै नाप्न थाल्छन् कविताका शब्द, लयको लम्बाइ । फुर्सदको समय सदुपयोग गरौँ भन्ने भन्दा पनि देशका जल्दाबल्दा घटनालाई शब्दमा उठान गर्छन् । कित्ता नापीको क्रममा उक्लन्छन् सुदूर पूर्वदेखि पश्चिमसम्म । पुग्छन् मेचीदेखि महाकालीसम्म । ती भेगमा पुगेर सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गर्दा मन छिया–छिया हुन्छ ।

पश्चिमका आविष्कारलाई पूर्वमा सर्भे गर्न जाँदा एक खाले फिलिङ्स आएको थियो कि पश्चिमभन्दा यता अलि विकास होला ! तर ताप्लेजुङ चाहार्दा त्यहाँ पनि विकासको उही ताल देखे । विकास भनेकै डोजर, भ्यु टावर र सडक हो भन्ने खालको गतिविधि देखे ।
यसबीच पूर्वको हाक्पारे भाकाले तान्यो । र, लेखे गीति कविता ‘यही माटोमा, कवि हृदयका आविष्कारले हालसम्म चार वटा गीत बजारमा सार्वजनिक गरिसकेका छन् । ‘सीमाना अतिक्रमण भयो खबरदार,’ ‘सगरमाथा गर्वको छाती’ उनका चर्चित कृति हुन् ।

अध्ययन र लेखनमै रमाउने आविष्कारको नजर जताततै बनेका ‘भ्यूटावर’ मा गएर ठोक्कियो । केपीको कार्यकालमा सामाजिक सञ्जाल, मिडिया जताततै समृद्धि भनेकै भ्यु टावरलाई मानियो र टावरमै बजेटको खोलो बगाइयो । के संघ, के प्रदेश वा स्थानीय सरकारसम्म । अनि जन्माए ‘भ्यूटावर’ शीर्षकमा कविता । नेपालका अग्ला डाँडा आफैंमा भ्यु टावर हुन् । यस्ता डाँडा काँडाले भरिएको प्राकृतिक भ्यु टावर भएको देशमा भ्यूटावर बनाउनुको कुनै औचित्य देखेनन् । अनावश्यक बजेट खर्च गरेर ठडाइएका भ्यू टावर, कमिसनका लागि मात्र बनाइएको जस्तो लाग्छ उनलाई । विकासको चरणमा हिँडिरहेको नेपालको पहिलो प्राथमिकता त स्वास्थ्य, शिक्षा, यातायात नपुगेको ठाउँमा पर्याप्त पु¥याउनु हो नि ! भ्यूटावरलाई विम्व बनाएर आविष्कारले एउटा सुन्दर कविता कोरेका छन् । सायद,केपी ओलीले सुन्न पाएका छैनन् होला ।

१० देखि ५ बजेसम्म काममा व्यस्त रहने आविष्कारको नशामा यो समयभित्र सर्भेयरको रगत, पसिना बग्छ । त्यसपछि साहित्यको । बसेरै लेख्छु भनेर समयचाहिँ छुट्ट्याउँदैनन् । एक दिन, आविष्कार नयाँबानेश्वरबाट माइतीघरतिर बढिरहेका थिए । अगाडि नेपालको झण्डा फरफराइरहेको थियो । तत्कालै शीर्षक जुराए – ‘खबरदार विस्तारवाद’ । आन्दोलन भइरहेको माइतीघरमा रोकिएर ४ लाइन कविता कोरे । भद्रकाली आउनै लाग्दा कविता लगभग पूरा भइसकेको थियो । रत्नपार्कस्थित कार्यालय छिर्दासम्म कविताको भाव, लय, अर्थ सबै तयार भइसकेको थियो । उनीसँग ३० मीनेटभन्दा कम समयमै हिँड्दा हिँड्दै कविता रचना गरेको ताजा याद पनि छ ।

एक सर्जकलाई कुन घटना, दृश्य र अवस्थाले कतिखेर हिट गर्छ थाहै हुँदैन । अहिले प्राधिकरणका कर्मचारीमध्ये साहित्यमा रुचि राख्नेहरूका लागि भाव पोख्ने एउटा विद्युत्कर्मी साहित्यिक समाज नामक संस्था जन्मिएको छ जसले ‘अमर ज्योति साहित्यिक त्रैमासिक पत्रिका प्रकाशन गर्छ । यसमा २९२ जना साधारण सदस्य छन् । २०५६ मा स्थापित यस समाजको मूल ध्येय साहित्य क्षेत्रमा रुचि राख्ने कर्मचारीका प्रतिभालाई मलजल गर्नु नै हो । संस्थाले निकाल्ने पत्रिकाको संरक्षकमा प्राधिकरणका कार्यकारी निर्देशक (हाल कुलमान घिसिङ) छन् ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको एउटा कथन छ– जहाँ पुग्दैनन् रवि, त्यहाँ पुग्छन् कवि । यो पुरानो कथन भयो अहिले, आविष्कार कलाको हकमा चाहिँ उखान फेरिएको छ – जहाँ पुग्दैनन् ‘रे’, त्यहाँ पुग्छन् सर्भेयर । ‘रे’ को अर्थ प्रकाशको किरण पुञ्ज ।


प्रतिक्रिया दिनुहोस !